सुचना, समाचार र मनोरन्जन

नेपाल-युएई सम्बन्धको ५० वर्ष: नेपालका ७० प्रेरक कथा समेटिएको ‘एभरेस्ट टु इमिरेट्स’ पुस्तक प्रकाशन हुँदै

काठमाडौँ :

नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको कूटनीतिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा नेपालका ७० वटा विशिष्ट कथा र व्यक्तित्वहरूलाई समेटेर ‘एभरेस्ट टु इमिरेट्स’ (Everest to Emirates) नामक कफी-टेबल पुस्तक प्रकाशन हुने भएको छ।

हिमाल र सगरमाथाको देशका रूपमा चिनिने नेपालको पहिचानलाई हिमालभन्दा पारिको मानवीय आयामबाट विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले यो पुस्तक तयार पार्न लागिएको हो। डीकम डिजाइनको अवधारणामा बन्न लागेको यस पुस्तकको सम्पादन तथा क्युरेशन विकास भार्गव र परियोजना नेतृत्व सरिता गोलायले गरिरहेका छन्। नेपाल परराष्ट्र मन्त्रालयको संरक्षकत्वमा तयार भइरहेको यो पुस्तक सन् २०२७ को जनवरीभित्र सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।

केवल प्राकृतिक सुन्दरता र हिमालमा मात्र सीमित नरही आधुनिक नेपाल निर्माणमा योगदान पुर्‍याउने साहित्य, संस्कृति, व्यवसाय, कला, सम्पदा र सामाजिक क्षेत्रका विभिन्न ७० जना प्रेरक व्यक्तित्व तथा तिनका संघर्ष र सफलताका कथाहरू यसमा समेटिनेछन्। यसका साथै नेपाल र युएईबीचको ५० वर्षे द्विपक्षीय सम्बन्धलाई उत्सवका रूपमा मनाउँदै दुई देशबीचको सांस्कृतिक, पर्यटकीय, व्यावसायिक तथा जनस्तरको सम्बन्धलाई सुदृढ बनाउन यसले एउटा पुलको काम गर्ने अपेक्षा गरिएको छ।

संस्थापक टोलीका अनुसार यो पुस्तक एउटा प्रकाशन मात्र नभई दुई देशलाई जोड्ने र नेपाल हिमाल मात्र नभएर असीमित कथाहरूको सङ्गालो हो भन्ने सन्देश विश्वसामु पुर्‍याउने एउटा सशक्त माध्यम बन्नेछ।

Leave A Reply

Your email address will not be published.