सरकारले महिला कर्मचारीलाई महिनावारीका समयमा बिदा दिने व्यवस्था प्रस्ताव गरेको छ। प्रतिनिधि सभामा दर्ता गरिएको ‘सङ्घीय निजामती सेवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’८८मा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो।
महिनावारीका समयमा हुने पेट दुखाइ, अत्यधिक रक्तस्राव, थकान लगायतका कारण काममा असर पर्न सक्ने अवस्थालाई सम्बोधन गर्न बिदाको व्यवस्था प्रस्ताव गरिएको हो।

विश्वका विभिन्न देशमा पनि फरक–फरक स्वरूपमा महिनावारी बिदाको व्यवस्था छ। जापान, दक्षिण कोरिया, इन्डोनेसिया, ताइवान, जाम्बिया र स्पेनलगायत देशमा यस्तो व्यवस्था कार्यान्वयनमा छ। भारतको कर्नाटकमा भने सरकारी तथा निजी क्षेत्रका महिला कर्मचारीलाई महिनामा एक दिन तलबसहितको महिनावारी बिदाको व्यवस्था गरिएको छ।
नेपालको प्रस्तावित व्यवस्थामा भने महिनावारी बिदा कति दिन उपलब्ध हुने भन्ने विषय स्पष्ट छैन। महिलाले प्रचलित विभिन्न बिदामध्येबाट यसको उपयोग गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
विधेयक संसद्बाट पारित भएर ऐनका रूपमा लागू भएमा सरकारी सेवामा कार्यरत महिला कर्मचारीले महिनावारीका समयमा बिदा लिन सक्ने कानुनी आधार बन्नेछ।