सर्लाही:
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सर्लाही क्षेत्र नम्बर १ मा सम्पन्न क्षेत्रीय अधिवेशनबाट फिल्म निर्मात्री तथा समाजसेवी शर्मिला थापा सर्वाधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्।

सहमतिको प्रयास असफल भएपछि सर्लाहीको बयलबासस्थित गल्ला व्यापार संघको भवनमा मंगलबार भएको निर्वाचनमा युवा महिलातर्फ उम्मेदवारी दिएकी थापाले ६९७ मत प्राप्त गरी विजयी भएकी हुन्। उनकी प्रतिस्पर्धी कृष्मा भट्टराईले ४२८ मत प्राप्त गरेकी थिइन्।
निर्वाचित भएपछि प्रतिक्रिया दिँदै निर्मात्री थापाले नेपाली कांग्रेसले युवाको प्रतिनिधित्व सुनिश्चित गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पार्टीभित्र कला क्षेत्रको हित र युवाका समस्या समाधानका लागि सशक्त आवाज उठाउने प्रतिबद्धता जनाइन्। “म कला क्षेत्रसँग जोडिएको व्यक्ति भएकाले यस क्षेत्रको आवाजलाई बुलन्द रूपमा उठाउनेछु र नेपाली कांग्रेसलाई कला क्षेत्रमैत्री बनाउन मेरो सक्रिय भूमिका रहनेछ,” उनले भनिन्।
शर्मिला थापाले निर्माण गरेको चलचित्र ‘आशा’ आगामी माघे संक्रान्तिको अवसर पारेर माघ १ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा रहेको छ।