काठमाडौँ :
एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको हरर जनराको फिल्म ‘भिडियोटेप’को छायांकन ३१ दिनमा पुरा भएको छ। भदौको पहिलो सातादेखि उपल्लो मुस्ताङका आकर्षक एवं दुर्गम स्थानहरूबाट सुरु गरिएको फिल्मको छायांकन काठमाडौंमा लगातार तीन रात काम गर्दै अन्तिम चरणमा पुगेर सकिएको हो।

यस फिल्ममा नायिका उपासना सिंह ठकुरी र नायक कुन्दन मान शाक्य मुख्य भूमिकामा देखिएका छन्। उनीहरूसँगै अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जिवन अधिकारी, शेखर चापागाँई र सिद्धार्थ सिंह लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।
फिल्मलाई ओविद उद्दिनले निर्देशन गरेका हुन्। आफूलाई सुरुदेखि नै हरर जनराका फिल्म मनपर्ने भएकाले यस क्षेत्रतर्फ आकर्षित भएको बताउँदै निर्देशक ओविदले सम्पूर्ण टिमको कडा मिहिनेत र लगनशीलताका कारण समयमै छायांकन सम्पन्न गर्न सम्भव भएको बताए।
वशिष्ट प्रधानको छायांकन (डीओपी) रहेको यस फिल्ममा महेश बरालको मुख्य सहायक निर्देशन तथा ईश्वर घिमिरेको प्रोडक्सन म्यानेजमेन्ट रहेको छ। छायांकनको काम सकिए पनि फिल्मको प्रदर्शन मिति भने अझै तय गरिएको छैन।