काठमाडौँ :
आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइन, कमलादीको आयोजनामा कमलपोखरीस्थित सिटी सेन्टरमा दुईदिने ‘स्पेस एन्ड डिजाइन एक्स्पो सिजन ६ र ७’ सुरु भएको छ। शनिबार एक विशेष समारोहबीच पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधान र ‘मिस नेपाल वर्ल्ड २०२६’ दीपमाला ढकालले संयुक्त रूपमा एक्स्पोको उद्घाटन गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री प्रधानले नेपालका युवाहरूमा इन्टेरियर डिजाइनप्रति आकर्षण बढ्दै गएको र आईआईएफटीले आवश्यक ज्ञान तथा सीप प्रदान गर्न महत्त्वपूर्ण योगदान पुर्याएको बताए। उनले संस्थाका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाको प्रयासको प्रशंसासमेत गरे। त्यस्तै, मिस नेपाल दीपमाला ढकालले विद्यार्थीहरूले तयार पारेका क्याफे तथा विभिन्न इन्टेरियर डिजाइनका नमुनाहरू उत्कृष्ट रहेको भन्दै सहभागीहरूलाई शुभकामना व्यक्त गरिन्।
आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाका अनुसार यसपटकको एक्स्पोमा ‘क्याफे डिजाइन’ र ‘थेसिस डिजाइन’ गरी दुई विधामा प्रतिस्पर्धा तथा प्रदर्शनी आयोजना गरिएको छ। एक्स्पोमा १०१ जना विद्यार्थी सहभागी छन्। उनीहरूले अध्ययनका क्रममा तयार पारेका सिर्जनात्मक अवधारणा तथा व्यावहारिक नमुनाहरू सिटी सेन्टरको भुइँतलादेखि तेस्रो तलासम्म प्रदर्शनीमा राखिएका छन्। उत्कृष्ट डिजाइन प्रस्तुत गर्ने विद्यार्थीहरूलाई नगद तथा अन्य पुरस्कारद्वारा पुरस्कृत गरिनेछ।
आइतबार साँझ ७ बजेसम्म चल्ने यो एक्स्पोसँगै असोज १८ गते दिउँसो ४ बजे दीक्षान्त समारोहसमेत आयोजना गरिने आयोजकले जनाएको छ। नयाँ क्याफे, रेस्टुरेन्ट, होटल वा कार्यालय निर्माण तथा पुनःडिजाइनको योजनामा रहेका व्यवसायी, इन्टेरियर डिजाइनर र निर्माण क्षेत्रका पेशेवरहरूका लागि यो एक्स्पो निकै उपयोगी हुने विश्वास लिइएको छ। यस एक्स्पोलाई ल्यामिनार भिट्रिफाइड टायल्स र शेर्पा ग्रुपले ‘पावर्ड बाई’, बर्जर पेन्ट्सले ‘पेन्ट पार्टनर’ तथा प्यासन टिस्यु र जेरोना डर्माले ‘एसोसिएट पार्टनर’का रूपमा सहयोग गरेका छन्।