पोखरा,
पोखराको पर्यटनलाई नयाँ गन्तव्यसँग जोड्ने उद्देश्यले पुम्दी–भुम्दीमा तेस्रो पर्वतीय दौड प्रतियोगिता आयोजना हुने भएको छ। खेल पर्यटनमार्फत पर्यटन क्षेत्र विस्तार गर्ने लक्ष्यसहित आगामी असोज २४ गते प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिक प्रालिको आयोजनामा हुने प्रतियोगिता नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय तथा पोखरा महानगरपालिका–२२ को सहकार्यमा आयोजना हुनेछ।
करिब ८ किलोमिटर दूरीको दौड विश्वशान्ति स्तूपाबाट सुरु भई पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति, पोखरा–२२ वडा कार्यालय हुँदै कालाबाङ घडेरी बुद्धपार्कमा पुगेर सम्पन्न हुनेछ। प्रतियोगितामार्फत पुम्दी–भुम्दीका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई खेल पर्यटनसँग जोडेर नयाँ पर्यटन मार्गका रूपमा विकास गर्ने आयोजकको लक्ष्य छ।

कार्यक्रम संयोजक दिनानाथ बरालले प्रतियोगिता केवल दौड प्रतियोगितामा सीमित नभई पुम्दी–भुम्दीको पर्यटन प्रवर्द्धन गर्ने अभियान भएको बताए। उनका अनुसार पहिलो संस्करणमा नेपालसहित बेलायत र ब्राजिलका धावक सहभागी भएका थिए भने दोस्रो संस्करणमा आठ देशका धावकले सहभागिता जनाएका थिए।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले खेल पर्यटनमार्फत पोखरा आउने पर्यटकलाई नयाँ गन्तव्यसम्म पुर्याउन सकिने बताए। पोखरा महानगरपालिका–२२ का अध्यक्ष हिमलाल बरालले प्रतियोगिताबाट स्थानीय होटल, होमस्टे, कृषि तथा व्यवसायमा प्रत्यक्ष आर्थिक लाभ पुग्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।
प्रतियोगितामा खुला, वडास्तरीय खुला, महिला, यू–१६, विदेशी र भेट्रान विधामा प्रतिस्पर्धा हुनेछ। खुलातर्फ प्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले ७ हजार र पाँचौँले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। अन्य विधाका विजेतालाई पनि नगद, पदक तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक धावकले असोज २१ गते राति १२ बजेसम्म पोखरा क्लिक अनलाइनमार्फत नाम दर्ता गर्न सक्नेछन्।