सुचना, समाचार र मनोरन्जन

पृथ्वीचोकका अनधिकृत टिकट काउन्टर हटाइए

पोखरा,

पोखराको पृथ्वीचोक क्षेत्रमा अनुमतिविना सञ्चालन हुँदै आएका टिकट काउन्टरहरू हटाइएको छ। पोखरा महानगरपालिका, नेपाल प्रहरी, ट्राफिक प्रहरी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिको संयुक्त टोलीले सोमबार पृथ्वीचोकमा रहेका अनधिकृत टिकट काउन्टर हटाएको हो।

पृथ्वीचोकमा विभिन्न यातायात कम्पनी तथा व्यवसायीले सार्वजनिक स्थान र सडकको भाग प्रयोग गरी अनुमति नलिई टिकट काउन्टर सञ्चालन गर्दै आएका थिए। जथाभावी काउन्टर राख्दा सडक तथा यातायात व्यवस्थापनमा समस्या हुनुका साथै यात्रु र सर्वसाधारणको आवागमनसमेत प्रभावित हुँदै आएको थियो।

Chaka Panja

सार्वजनिक स्थानको अव्यवस्थित प्रयोग रोक्दै सडक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले महानगरले अनधिकृत काउन्टर हटाउने पहल थालेको हो। यस विषयमा पोखरा महानगरपालिका र यातायात व्यवसायी महासंघबीच अनधिकृत काउन्टर हटाउने सहमति बनेपछि सोमबारदेखि त्यसको कार्यान्वयन सुरु गरिएको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि अर्जुन पौडेलले महानगरसँग भएको सहमतिअनुसार नै पृथ्वीचोकमा रहेका काउन्टरहरू हटाइएको जानकारी दिए। उनका अनुसार यातायात व्यवसायीलाई तोकिएको स्थानबाट मात्रै टिकट बिक्री तथा सेवा सञ्चालन गर्न आग्रह गरिएको छ।

महानगरपालिकाले सार्वजनिक स्थानलाई व्यवस्थित र सुरक्षित बनाउन सबै यातायात व्यवसायीलाई नियम पालना गर्न आग्रह गरेको छ। अनुमति नलिई पुनः सडक तथा सार्वजनिक स्थानमा टिकट काउन्टर सञ्चालन गरे आवश्यक कारबाही गरिने महानगरले जनाएको छ।

Leave A Reply

Your email address will not be published.