सुचना, समाचार र मनोरन्जन

‘बाहुबली’ र ‘आरआरआर’का वितरकले भारतमा प्रदर्शन गर्ने भए नेपाली चलचित्र ‘हिमालयन गोल्ड’

काठमाडौँ :

नेपाली चलचित्र क्षेत्रका लागि ऐतिहासिक उपलब्धि हासिल गर्दै चलचित्र ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने भएको छ। यसका लागि निर्माण पक्षले भारतको प्रतिष्ठित वितरण कम्पनी ‘एए फिल्म्स’ सँग औपचारिक सम्झौता गरेको छ। यति ठूलो स्तरको वितरकमार्फत सम्पूर्ण भारतभर एकसाथ प्रदर्शनको अवसर पाउने ‘हिमालयन गोल्ड’ पहिलो नेपाली चलचित्र बनेको छ।

धिराज राजवंशीको निर्देशनमा तयार भएको यो चलचित्र आगामी मङ्सिर ४ गते (नोभेम्बर २०) देखि प्रदर्शनमा आउँदैछ। भारतको मुम्बईमा ‘एए फिल्म्स’का संस्थापक तथा शीर्ष वितरक अनिल थडानी र निर्माण पक्षबिच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो। ‘एए फिल्म्स’ भारतीय सिनेमाको सबैभन्दा ठूला वितरण कम्पनीमध्ये एक हो, जसले ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘बाहुबली’, ‘आरआरआर’, ‘केजिएफ: च्याप्टर २’, ‘पुष्पा’ र ‘कान्तारा’ जस्ता बहुचर्चित तथा ब्लकबस्टर चलचित्रहरू वितरण गरिसकेको छ।

सम्झौतापछि प्रतिक्रिया दिँदै ‘एए फिल्म्स’का संस्थापक अनिल थडानीले भाषा र भूगोलभन्दा माथि उठेर उत्कृष्ट कथावस्तुलाई भारतीय दर्शकमाझ पुर्‍याउनु आफ्नो कम्पनीको उद्देश्य रहेको बताए। उनले भने, “‘हिमालयन गोल्ड’ एउटा यस्तो चलचित्र हो, जसको उत्कृष्ट कथावस्तु सम्पूर्ण भारतीय दर्शकले अनुभव गर्नुपर्छ। यसको प्रतिभाशाली टोलीसँग जोडिन पाउनु हाम्रा लागि गर्वको विषय हो। दर्शकले भाषाको पर्खाल तोडेर यसलाई माया गर्नेछन् भन्नेमा हामी विश्वस्त छौँ।”

यस्तै, यस ऐतिहासिक उपलब्धिबारे खुसी व्यक्त गर्दै निर्देशक धिराज राजवंशीले भने, “यो मेरो लागि मात्र नभई सम्पूर्ण नेपाली चलचित्र उद्योगकै लागि गौरवको क्षण हो। ‘हिमालयन गोल्ड’को सम्भावनालाई विश्वास गरेर भारतभर प्रदर्शनको अवसर दिनुभएकोमा म अनिल थडानी र ‘एए फिल्म्स’प्रति आभारी छु। हाम्रो उद्योगले निरन्तर खोजिरहेको प्रेरणा नै यही हो। मेरो पहिलो चलचित्रमै यति ठूलो साथ पाउनु मेरा लागि निकै महत्त्वपूर्ण छ।”

चलचित्रमा सुनिल थापा, राहुल एन. मुखिया, परीक्षा लिम्बू, सजन थापा र कर्मा शाक्यको मुख्य अभिनय रहेको छ। यो दिवङ्गत दिग्गज अभिनेता सुनिल थापाको अन्तिम चलचित्रसमेत हो। दशकौँसम्म नेपाली चलचित्र क्षेत्रमा अमूल्य योगदान दिएर दर्शकको मनमा अमिट छाप छोड्न सफल थापाको यो अन्तिम प्रस्तुतिलाई नेपाल र भारतभरका दर्शकमाझ पुर्‍याउनु उनको भव्य विरासतप्रतिको उत्कृष्ट सम्मान हुने निर्देशक राजवंशीले उल्लेख गरे।

प्रदर्शनको मिति नजिकिँदै गर्दा चलचित्रको बहुप्रतीक्षित ट्रेलर आगामी सोमबार सार्वजनिक गरिँदैछ। निर्माण टोलीले नेपाल र भारतका सिनेमा घरहरूमा उपस्थित भई ‘हिमालयन गोल्ड’ हेर्न र ठूलो पर्दामा हिमालयको भव्यता अवलोकन गर्न सम्पूर्ण दर्शकलाई विशेष आह्वान गरेको छ।

Leave A Reply

Your email address will not be published.