काठमाडौँ :
कस्तुरी प्रोडक्सन प्रा.लिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रा.लिको सहकार्यमा निर्माण भइरहेको नयाँ चलचित्र ‘सिन्दूर’ मा अभिनेता विपिन कार्की र अभिनेत्री निरुता सिंहको प्रवेश भएको छ।

लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार भइरहेको चलचित्रको हाल पश्चिम नेपालको दाङ जिल्लामा धमाधम छायाङ्कन भइरहेको छ। सुरुवाती चरणमा नायक पुष्प खड्का र नायिका प्रशंसा रायमाझीको नाम मात्र सार्वजनिक गरिएकोमा हाल निर्माण पक्षले चर्चित दुई कलाकार विपिन र निरुतालाई पनि टोलीमा आबद्ध गरिएको औपचारिक जानकारी गराएको हो। निर्देशक सुनारका अनुसार अभिनेत्री निरुताले केही दिनमै छायाङ्कन सुरु गर्नेछन् भने विपिनले दसैँपछि मात्र छायाङ्कनमा सहभागिता जनाउनेछन्। यद्यपि, उनीहरूको भूमिकाका विषयमा भने निर्माण पक्षले अहिले केही खुलाएको छैन।
एक महिनाको छायाङ्कन तालिका बनाएर दाङमा छायाङ्कन भइरहेको यस चलचित्रले सामाजिक कथावस्तुलाई मुख्य विषय बनाएको छ। एक महिलाका लागि सिन्दूरको महत्त्व र अर्थ कति हुन्छ भन्ने भावनात्मक कथालाई चलचित्रमा देखाइने निर्देशक सुनारले जानकारी दिएका छन्। सञ्जिव सार्कीको लगानी र दिनेश सिंह महरा कार्यकारी निर्माता रहेको यस चलचित्रमा संकल्प भुजेलको छायाङ्कन, मदन सुरखेतीको सह-लेखन, एनबी महर्जनको द्वन्द्व, रामजी लामिछानेको नृत्य निर्देशन र प्रकाश हमालको निर्माण व्यवस्थापन रहेको छ। प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको सङ्गीत रहेको यस चलचित्रको हालसम्म प्रदर्शन मिति भने तय गरिएको छैन।