काठमाडौं :
यतिबेला युट्युब तथा टिकटकमा खुबै सुनिएको गीत हो ‘थाक खोला’। ६ दिनअघि बाबुरी फिल्मस्को युट्युबबाट रिलिज भएको यो गीतमा टिकटक बनाउने तथा सामाजिक सञ्जालमा भिडियो बनाउनेहरु निकै भेटिन्छन्। सायद यस गीतको शब्द तथा संगीतलाई स्रोताले मन परेको हुनुपर्छ। यो गीतको भिडियोलाई २३ लाख दर्शकले हेरेका छन् भने युट्युबमा ४१ हजार लाइक देख्न सकिन्छ। साथै कमेन्ट १८ सयभन्दा माथी छ।
निर्देशक रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को गीत ‘थाक खोला’ सार्वजनिक भएको छोटो समयमा नै चर्चा बटुलेको हो। आगामी कार्तिक ६ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको गीतमा कालीप्रसाद बास्कोटाको स्वर,शब्द र संगीत छ। गीतको मिक्सिङ तथा मास्टरिङ, संगीत संयोजन, गिटारवादन रिकेश गुरुङ किजले गरेका छन्। त्यस्तै गीतको सारंगीमा हेमन्त कान्छा रसाइली र बेश गिटारमा कृष्ण लिम्बूले साथ दिएको यो गीतको भाका असाध्यै राम्रो छ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ र सिर्जना गुरुङले गीतको भाकामा जिवन्त अभिनय गरेका छन्। दयाहाङको मिरुना, सिर्जना र रिश्मासँगको रमाइलो नोकझोक, प्रेम र सम्बन्धका भावनात्मक पाटोलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। तीनै जनासँग दयाहाङको प्रेम र उनीहरूबीचको रमाइलो नोकझोकले गीतको भिडियो मनोरञ्जनसँगै सिनेमाको कथाप्रति कौतुहलता पनि बढाएको छ ।

भिडियोको अर्को प्रमुख आकर्षण भनेको थाक खोलादेखि सेताम्य हिमाल र हरियाली डाँडापाखासम्मका मनमोहक प्राकृतिक दृश्य हुन्। यी दृश्यहरूले गीतको भाव र कथालाई अझ सुन्दर तथा जीवन्त बनाएको छ। विशेषगरी भिडियोमा छुट्टै नृत्य वा कोरियोग्राफीलाई प्राथमिकता दिइएको छैन।
सायद यो कथा अघिल्लो पार्टकै फिल्मको कथाशैलीलाई निरन्तरता दिएको हुनुपर्छ। पात्रहरूको सम्बन्ध, प्रेम, नोकझोक र भावनालाई कथामार्फत प्रस्तुत गरिएको छ। यसअघि फिल्मको टिजर सार्वजनिक गरिएको थियो। टिजरले छोटो समयमै लाखौ भ्युज बटुल्नुका साथै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। टिजरमा धेरै दर्शकले अभिनेत्री मिरुना मगरको खोजी गरेका थिए। फिल्मको गीतमा भने उनी देखिएकी छन्।
टिजरजस्तै गीतले पनि दर्शकको साथ पाउने टिमको विश्वास छ। फिल्म दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको यस फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन्। सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन छ ।
मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने रहेको यो फिल्मको नेपालमा वितरण ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले गर्नेछ भने विदेशी वितरणतर्फ सेभेन सिज इन्टरनेसनल रहेको छ।