वर्षौंदेखिको फोहोर हटाएर हरियाली मैदान बनाउने पहल, खेलकुदमार्फत पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धन गर्ने लक्ष्य
पोखरा,
पर्यटकीय राजधानी पोखराको लेकसाइडस्थित हल्लनचोकमा रहेको क्याम्पिङ चौरलाई व्यवस्थित र आकर्षक हरियाली मैदानका रूपमा विकास गर्ने पहल सुरु भएको छ। वर्षौंदेखि थुप्रिएको निर्माणजन्य फोहोर र अवशेष हटाउँदै पोखरा एभेन्जर्सले चौरको सरसफाइ तथा सौन्दर्यीकरण अभियान अघि बढाएको हो।
खेलकुदलाई पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक विकाससँग जोड्ने उद्देश्यसहित अघि बढाइएको अभियानअन्तर्गत चौरलाई दुबो रोप्न मिल्ने गरी सम्याइएको छ। अब उक्त स्थानलाई प्राकृतिक हरियालीसहितको खुला सार्वजनिक मैदानका रूपमा विकास गर्ने अवधारणा अघि सारिएको छ।
पोखरा एभेन्जर्सले चौरमा थप कंक्रिट संरचना निर्माण गर्नुभन्दा यसको प्राकृतिक स्वरूप, खुलापन र हरियाली संरक्षणमा जोड दिएको छ। गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयअन्तर्गत पर्यटन महाशाखाको स्वामित्वमा रहेको चौरलाई व्यवस्थित बनाउन पोखरा महानगरपालिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने एभेन्जर्सको धारणा छ।
चौर व्यवस्थापनका क्रममा सार्वजनिक स्थानको उपयोग र विकासको अवधारणाबारे केही चुनौती सामना गर्नुपरे पनि सार्वजनिक हित र पोखराको दीर्घकालीन सौन्दर्यलाई प्राथमिकतामा राखेर अभियानलाई निरन्तरता दिइएको पोखरा एभेन्जर्सले जनाएको छ।
एनपीएलका दर्शकका लागि एकमहिने फ्यान पार्क
चौरको सरसफाइ र सौन्दर्यीकरणसँगै पोखरा एभेन्जर्सले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) लाई लक्षित गर्दै क्याम्पिङ चौरमा एक महिनासम्म विशेष फ्यान पार्क सञ्चालन गर्ने तयारी गरेको छ।

फ्यान पार्कमा क्रिकेटप्रेमीले सामूहिक रूपमा खेलको प्रत्यक्ष प्रसारण हेर्न पाउनेछन्। यसले स्थानीय बासिन्दा, खेलप्रेमी तथा आन्तरिक र बाह्य पर्यटकलाई एउटै स्थानमा जोड्दै लेकसाइडमा क्रिकेटको उत्सवमय वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।
खेल हेर्न आउने दर्शकको चहलपहलले लेकसाइडका होटल, रेस्टुरेन्ट, क्याफे, यातायात तथा अन्य पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ। क्रिकेटको लोकप्रियतालाई पर्यटनसँग जोडेर स्थानीय आर्थिक गतिविधि बढाउने पोखरा एभेन्जर्सको लक्ष्य छ।
खेलकुदमार्फत पर्यटन विकासमा जोड
पोखरा एभेन्जर्सका प्रकाश लामिछानेले आफ्नै ठाउँमा रहेका सम्भावना र चुनौतीलाई आत्मसात् गर्दै खेलकुदमार्फत पर्यटन विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
“हामीले आफ्नै ठाउँमा रहेका अवसर र चुनौती दुवैको पूर्ण अपनत्व लिँदै खेलकुदको माध्यमबाट पर्यटन विकास गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ। सार्वजनिक स्थानको संरक्षण, सौन्दर्यीकरण र सदुपयोगमार्फत पोखराको पर्यटनलाई थप उचाइमा पुर्याउनु हाम्रो उद्देश्य हो,” लामिछानेले भने।
उनका अनुसार पोखरामा प्राकृतिक सुन्दरता, पर्यटकीय पूर्वाधार र खेलकुदप्रतिको आकर्षण पर्याप्त भए पनि यी क्षेत्रबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक छ।
लेकसाइडजस्तो व्यस्त पर्यटकीय क्षेत्रमा रहेको क्याम्पिङ चौरलाई हरियाली मैदानका रूपमा विकास गर्न सके यसले पर्यटकलाई आकर्षित गर्नुका साथै स्थानीय बासिन्दाका लागि पनि उपयोगी खुला स्थानको भूमिका निर्वाह गर्न सक्नेछ।
खेलकुद प्रतियोगिताका बेला फ्यान पार्क सञ्चालन गर्ने र अन्य समयमा चौरको प्राकृतिक स्वरूप तथा सार्वजनिक उपयोगिता कायम राख्ने अवधारणाले पोखरामा खेल पर्यटनको नयाँ सम्भावना खोल्न सक्ने अपेक्षा गरिएको छ।
क्याम्पिङ चौरको संरक्षण र व्यवस्थापनका लागि पोखरा महानगरपालिका, प्रदेश सरकार, पर्यटन व्यवसायी, स्थानीय समुदाय तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक देखिन्छ। प्रभावकारी समन्वय हुन सके हल्लनचोकको क्याम्पिङ चौर पोखराको हरियाली, सार्वजनिक सौन्दर्य र खेल पर्यटनको नयाँ आकर्षण बन्न सक्नेछ।