सुचना, समाचार र मनोरन्जन

बङ्गालको खाडीमा विकसित पानी पार्ने प्रणाली थप बलियो बन्दै

काठमाण्डौ,

बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएर नेपालमा आउँदो बिहीवार कात्तिक १२ गतेदेखि वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा बुधवारदेखि नै मौसम बदली भई बिहीवारदेखि वर्षाको प्रभाव तीव्र हुने सम्भावना छ । बुधवार पनि बादल लागेर छिटपुट वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । बिहीवारदेखि शनिवारसम्म यसको प्रभाव उच्च रहनेछ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पूर्वी भूभागमा वर्षाको धेरै प्रभाव पर्ने देखिएको छ भने सुदूरपश्चिम र कर्णालीमा यसको असर तुलनात्मक रूपमा कम हुनेछ ।

Pach Pandav

मौसमसम्बन्धी जानकार उज्ज्वल उपाध्यायका अनुसार बिहीवारदेखि आइतवारसम्म देशका विभिन्न ठाउँमा औसतमा १०० मिलिमिटर र केही ठाउँमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्छ ।

गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, कास्की, लमजुङ, गोरखा, म्याग्दी र बागलुङलगायत पहाडी तथा हिमाली क्षेत्रमा अत्यधिक वर्षा र हिमपातको धेरै जोखिम रहेको छ । मनसुनमा भिजेर नसुकेको जमिनमा बाढी, पहिरो र हिमपहिरोको जोखिम रहने विज्ञहरूले बताएका छन् ।

यसैबीच अहिले धान काट्ने र पर्वतारोहणको समय भएकाले किसान तथा पर्यटकहरूलाई विशेष सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । धान खेतमै भिजेर नष्ट हुनबाट बचाउन किसानलाई ११ गतेभित्रै धान काटेर सुरक्षित ठाउँमा थन्क्याउन उनीहरूको सुझाव छ ।

साथै आउँदो १२ देखि १५ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रामा जाने योजना बनाएका पर्यटकहरूलाई यात्रा स्थगित गर्न वा सुरक्षित ठाउँमा रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।m

Leave A Reply

Your email address will not be published.