काठमाडौँ,
यसअघि उपसभापतिको नेतृत्वमा रहने नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अब वरिष्ठ उपसभापतिको संयोजकत्वमा हुने भएको छ । कांग्रेसले १५औँ महाधिवेशनमा विधान संशोधन गरी प्रतिष्ठानको नेतृत्व अब वरिष्ठ उपसभापतिले गर्ने व्यवस्था गरेको हो ।
पार्टीमा वरिष्ठ उपसभापतिको व्यवस्था पनि पहिलो पटक गरिएको हो । उक्त पदमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

नयाँ विधान अनुसार शर्माले नै अब पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्व गर्ने छन् । नवनिर्वाचित महामन्त्री प्रदीप पौडेल संयोजकत्वमा रहेको विधान संशोधन मस्यौदा समितिले वरिष्ठ उपसभापतिको नेतृत्वमा प्रतिष्ठान राख्ने प्रस्ताव भर्खरै सम्पन्न १५औँ महाधिवेशनले पारित गरेको हो ।
यसअघि सभापतिले तोकेको उपसभापतिले प्रतिष्ठानको नेतृत्व गर्ने व्यवस्था विधानमा थियो । विधान संशोधन गर्दै वरिष्ठ उपसभापति बनाएर उसैको नेतृत्वमा प्रतिष्ठानलाई राख्ने व्यवस्था गरिएको हो ।
गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि सभापति चयन भएका गगन थापाले त्यो बेला तत्कालीन उपसभापति विश्वप्रकाश शर्मालाई प्रतिष्ठानको संयोजकको जिम्मेवारी दिएका थिए । अहिले वरिष्ठ उपसभापति बनेका शर्मालाई पनि सभापतिकै चाहनामा प्रतिष्ठानको नेतृत्व दिने व्यवस्था विधानमा गरिएको नेताहरू बताउँछन् ।
१४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवाले तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालाई प्रतिष्ठानको संयोजकको जिम्मेवारी सुम्पिएका थिए । संशोधित विधानमा वरिष्ठ उपसभापतिलाई केन्द्रीय कार्यालय सञ्चालनको सञ्चालनको संयोजन र सभापतिको अनुपस्थितिमा बैठक सञ्चालनको अधिकार पनि दिइएको छ ।