आफ्नो मान्छे बनाउने राजनीति होइन, जनताको मान्छे बन्ने राजनीति आजको आवश्यकता हो। राजनीतिमा अग्रजको अनुभव र युवाको ऊर्जा जोड्न सकियो भने मात्र वास्तविक समाज रूपान्तरण सम्भव छ।
तनहुँको म्याग्दे गाउँपालिका वडा नं. २ सानो चौतारास्थित स्थानीय बज्यै मन्दिरको नवनिर्मित भवन समुद्घाटन समारोहमा एक दृश्य विशेष चर्चाको विषय बन्यो। कार्यक्रममा म्याग्दे वडा नं. २ का वडा सदस्य एवं नेपाली काङ्ग्रेसका उदीयमान युवा नेता रमेश क्षेत्रीले मन्दिर व्यवस्थापनका लागि ११ हजार रुपियाँ सहयोग हस्तान्तरण गरे। यो सहयोग केवल एउटा औपचारिक चन्दा मात्र थिएन, जनप्रतिनिधिका रूपमा राज्यबाट पाउने सेवा-सुविधालाई समाजसेवामा समर्पित गर्ने उनको निरन्तरको यात्राको अर्को एउटा कडी थियो।
जनप्रतिनिधि निर्वाचित भएयता क्षेत्रीले आफूले पाउने सम्पूर्ण भत्ता र सेवा-सुविधा निजी प्रयोगमा खर्च गरेका छैनन्। उनले ती रकम गाउँका क्लब, आमा समूह, शैक्षिक सामग्री खोजिरहेका विद्यार्थी, गरिब तथा असहाय युवा वर्गका लागि निरन्तर हस्तान्तरण गर्दै आएका छन्। आफूलाई धनी बनाउने ध्येयभन्दा पर रहेर उनी भन्ने गर्छन्, “आफूलाई खान पुगोस्, आवश्यकता महसुस गरेकालाई दिन पुगोस्।”

रमेशको यो मनकारी बानी जनप्रतिनिधि भएपछि देखाउनका लागि पलाएको सामाजिक मुखौटा भने होइन। उनी सानैदेखि निःस्वार्थ भावले अरूको सेवामा तल्लीन रहन्थे। उनका बालसखा सम्झिन्छन्, “रमेश सानैदेखि दिलको राजा हो। आजसम्म उसले कसैको खाएको छैन, बरु आफ्नो दिएको छ।” आफ्नो खुसीभन्दा अरूको अनुहारमा मुस्कान देख्न रुचाउने रमेशका व्यक्तिगत अनुभूति र जीवनदर्शन निकै सरल तर गम्भीर छन्। उनी भन्छन्:“आफ्ना खुसीको लागि अरूको मन दुखाउन सकिन्न,तर अरूको खुसीको लागि आफ्नो मन कति दुखाएँ हिसाब छैन।”

कर्म र धर्मलाई फरक कोणबाट हेर्ने रमेशको सकारात्मक चितनले गाउँका धेरै युवालाई प्रभावित पार्ने गरेको छ। उनी धर्मलाई आडम्बर वा पूजापाठको कर्मकाण्डमा मात्र सीमित राख्दैनन्, बरु असल कर्म र व्यवहारमा खोज्छन्। उनी भन्छन्, “फूल टिपेर खुसी हुनुभन्दा हेरेर खुसी हुन सिक्नुहोस्। भगवान्लाई फूलले भन्दा पनि राम्रो कर्म गरेर धर्म कमाउनुहोस्।”
तनहुँका युवामाझ लोकप्रिय रहेका रमेशको राजनीतिक चेत र नेतृत्व क्षमता उदाहरणीय छ। नेतृत्वको होडबाजी र अरूलाई तल खसालेर आफू माथि उठ्ने होड चलिरहेको आधुनिक राजनीतिमा उनी बिल्कुलै फरक विचार राख्छन्। अरूलाई सम्मान गर्नु नै असल नेतृत्वको पहिलो सर्त भएको ठान्दै उनी भन्छन्, “अरूलाई सम्मान गर्न सक्ने मानिस कहिल्यै सानो हुँदैन। आफू ठूलो भएको प्रमाणित गर्न अरूलाई सानो बनाउनु पर्दैन। यही नै असल समाज र असल नेतृत्वको पहिचान हो।”
समकालीन राजनीतिमा अग्रज र नयाँ पुस्ताबिच देखिने द्वन्द्वबारे उनको चिन्तन निकै सन्तुलित र परिपक्व छ। अग्रजहरूको लामो योगदान र अनुभव नयाँ पुस्ताका लागि मार्गदर्शन हुनुपर्नेमा उनी जोड दिन्छन्। लामो समय देश र समाजका लागि खटिएका पुराना नेताहरूले अनुभव बाँड्ने, नयाँ नेतृत्व तयार गर्ने र योग्य व्यक्तिहरूलाई अगाडि बढाउने वातावरण बनाउनुपर्ने उनको मान्यता छ।
तथापि, राजनीतिमा देखिने नातावाद र कृपावादको भने उनी कडा शब्दमा प्रतिवाद गर्छन्। उनी भन्छन्, “अग्रज हुनुको सम्मान हुनुपर्छ, तर अवसर पाउन नाताभन्दा योग्यता, अनुभव, इमानदारी र जनताको सेवाले महत्त्व पाउनुपर्छ। राजनीतिमा अग्रजको अनुभव र युवाको ऊर्जा एक ठाउँमा जोडियो भने समाज परिवर्तन गर्न सकिन्छ।”
पद पाउनका लागि अनेक हथकण्डा अपनाउने र निर्वाचित भएपछि राज्यकोषको दोहन गर्ने प्रवृत्ति झाँगिँदै गएको समयमा रमेश क्षेत्रीले देखाएको व्यवहार आशालाग्दो छ। भत्तालाई दान र सेवा-सुविधालाई गाउँको हितमा रूपान्तरण गर्ने उनको यो निष्ठावान् अभ्यासले राजनीतिप्रति गुम्दै गएको जनविश्वासलाई पुनः जागृत गराउन मद्दत पुर्याएको छ। गुटबन्दी र सङ्कुचित स्वार्थबाट माथि उठेर “आफ्नो मान्छे बनाउने राजनीति होइन, जनताको मान्छे बन्ने राजनीति” गर्नुपर्छ भन्ने रमेश क्षेत्रीको अठोट नै आजको नेपाली राजनीतिमा उदाउँदो युवा नेतृत्वको वास्तविक पहिचान हो।