काठमाडौँ :
अभिनेता कर्मा कमै फिल्ममा मात्र नकारात्मक भूमिकामा देखिएका छन्। तर जतिमा देखिएका छन्,ती भूमिका दर्शकले उत्तिकै मनपराइरहेका छन्। यिनै कर्मा आगामी मंसिर ४ गतेबाट रिलिज हुने फिल्म ‘हिमालयन गोल्ड’मा ‘प्रकाश’ नामक खलपात्रको भूमिकामा देखिँदैछन्। जुन भूमिका उनकै भनाईमा परिस्थिति अनुसार पात्रले निभाउँछ।
कर्मा आफ्नो चरित्रलाई पहिलाको भाषामा ‘गुण्डा’को ट्याग दिन्छन्। ‘मेरो चरित्र नै नेगेटिभ सेडको छ। पहिलाको चलचल्तीको भाषामा भन्नुपर्दा गुण्डाको छ । तर म त्यसलाई त्यसरी लिँदिन, किनकी यो एउटा पात्र हो । संयोगबस त्यो पात्रले उसको परिस्थिति अनुसार कामहरु गर्यो,’कर्मा भन्छन्, ‘मेरो क्यारेक्टरले पनि परिस्थिति अनुसार यार्सागुम्बा लुट्नेदेखि लिएर यताउता गर्ने काम गर्छ । यो भन्दा अगाडि लुटमा पनि बैंक लुट्ने क्यारेक्टर थियो । मान्छेहरु एउटा पात्रले किन त्यस्तो काम गर्छ भनेर प्रश्न गर्छन्। तर त्यो काम भनेको परिस्थिति अनुसार हुँदै जाने हो नि।’
कर्मा फिल्म ‘हिमालयन गोल्ड’ को अनुभव रमाइलो रहेको सुनाउँछन् । ‘निर्देशक धिराज राजवंशीको यो पहिलो फिल्म हो यसको स्क्रिप्ट, मसँगै अन्य पात्रहरु, सबै कुराहरु नै पृथक छ। मैले गर्न खोजिरहेको फिल्महरुमध्ये ‘हिमालयन गोल्ड’ पनि एक हो । किनकी यसको कथावस्तु, प्रेजेन्टेसन पनि पृथक छ’, उनी भन्छन्।
कर्माले यसअघि धिराजको बुवासँग फिल्म ‘शेरबहादुर’मा सहकार्य गरेका रहेछन्। उनको बुवासँग काम गरेको अनुभवले पनि कर्मालाई धिराजसँग सहकार्य गर्न सजिलो भएको रहेछ। निर्देशक धिराजले आफूलाई कथा सुनाउँदा त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा पनि बताएकोले फिल्ममा काम गर्न सजिलो भएको बताए। कर्मा ‘हिमालयन गोल्ड’ भन्दा अघि पनि मुस्ताङ, डोल्पा पुगेका रहेछन्। ‘त्यतिबेला म प्रत्यक्ष रुपमा यार्सागुम्बा टिप्ने ठाउँसम्म नै पुगेको त थिइनँ। तर पुग्ने मानिसहरुसँग मैले घुलमिल गरेको थिएँ। ९० को दशक पछि नै यार्सागुम्बा विश्वबजारमा फैलन थालेको।
यो सिजनमा टिप्ने बेलामा म डोल्पामै हुँदा खेरी पनि स्कुल बन्द गरेर बच्चाबच्चा लिएर ठूलो समूह यार्सागुम्बा टिप्न गएको देखेको छु । बच्चाहरुलाई लिएर जाने कारण चाहिँ बच्चाको आँखा तेजिलो हुन्छ भन्ने रहेछ । जसकारण स–साना यार्सागुम्बाहरु पनि टिप्न सजिलो हुँदो रहेछ’, उनले भने, ‘मैले स्थानीयसँग कुरा गर्दा पहिला पहिला लुटपाट र झगडा पनि हुन्थ्यो रे । अहिले अलिक व्यवस्थित छ । नेपाली सेनाहरु यार्सागुम्बा टिप्नुभन्दा अगाडि नै लेकमा पुगिसकेका हुन्छन् । मान्छेको समूह अनुसार यार्सागुम्बा टिप्ने डाँडा छुट्याइएको हुन्छ । पोखरा, काठमाडौं, सुर्खेतबाट आएका मान्छेहरुले यार्सागुम्बा टिप्नका लागि टिकट लिन्छन् । यहाँबाट आएका कति मान्छेहरु लेक लागेर बिरामी भएको पनि देखेको छु ।’

कर्माले यार्सागुम्बाकै विषयमा एरिक भ्यालीले निर्माण गरेको डकुमेन्ट्री र अन्य निर्देशकको डकुमेन्ट्री हेरेकाले पनि यार्सागुम्बाका विषयमा धेरथोर जानकारी भएको बताए । ‘अहिले त यार्सागुम्बा भनेर एउटा पेयपदार्थ नै बनाइएको छ। विश्वमाझ नै यार्सागुम्बालाई शक्ति प्रदान गर्ने औषधिका रुपमा चित्रण गरिएको छ,’ कर्मा भन्छन् कर्माको अनुभवमा मुस्ताङको लोकेसन नै यो फिल्मको सुटिङका लागि चुनौति थियो । ‘ट्रेलरमा देखाइएको जुन गुफामा हामीले सुट गरेका छौं । त्यो चाहिँ हाइ अल्टिच्युडमा थियो। त्यति उच्च स्थानमा रहेको गुफामा सुटिङ गर्नु आफैंमा चुनौति थियो । त्यहाँ धुलो उड्नेदेखि अक्सिजन नपुग्नेसम्मका चुनौति थिए। त्यस्ता चुनौतिका बाबजुद पनि सुटिङ गर्यौं । हामीले त्यो गुफामा झण्डै पाँच दिन लगाएर एक्सन दृश्य सुट गर्यौं’, उनले सम्झिए।
फिल्ममा परीक्षा लिम्बुले निभाएको फिमेल लिड प्रोटागोनिस्ट चरित्र, सुनिल थापाको अभिनयसँगै कथाको दृष्टिकोणले पनि हिमालयन गोल्ड हेर्नुपर्ने कर्माको तर्क छ । ‘अझ रोचक कुरा त के भने यो फिल्ममा गीत नै छैन । गीत बिनाको कथात्मक फिल्म हेर्न चाहनेका लागि हिमालयन गोल्ड उपर्युक्त फिल्म बनेको छ’, उनी भन्छन् ।
ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा कर्मा शाक्यसँगै परीक्षा लिम्बु, सुनिल थापा, मेनुका प्रधान, राहुल एन. मुखिया, अङ्कित खड्का, सुनिल तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी र ऋषिकेश बस्यालको पनि अभिनय रहेको छ।यो फिल्मको सबैभन्दा भावनात्मक पक्ष यो नेपाली सिनेमाका वरिष्ठ अभिनेता सुनिल थापाको अन्तिम चलचित्र हुनु हो। निर्देशक राजवंशीका अनुसार थापाको अन्तिम अभिनयलाई नेपाल र भारतका दर्शकसम्म पुर्याउनु उनको योगदानप्रति उचित श्रद्धाञ्जली हुने भनाइ छ।
हिमाली क्षेत्रको पृष्ठभूमिमा निर्माण गरिएको यो सर्भाइभल थ्रिलर फिल्मले अस्तित्वको संघर्ष, लोभ र विश्वासघातलाई मुख्य कथावस्तु बनाइएको छ। यो फिल्मका निर्माता मीनबहादुर भाम, लाइन प्रोड्युसर शैलेन्द डी. कार्की, सह-निर्माता सुयश ज्ञवाली र कायकारी निर्माता राजु राजवंशी रहेका छन्।निर्देशक राजवंशीकै कथा रहेको फिल्ममा दीपेन्द गौचन र धिराज राजवंशीको पटकथा, विशष्ठ प्रधानको डिओपी, निमेश श्रेष्ठको सम्पादन, सजल लोप्चन र करुण थापाको भिएफएक्स छ।
यो फिल्मलाई भारतको प्रतिष्ठित वितरक ए ए फिल्म्स्ले भारतमा प्रदर्शन गर्ने भएको छ। ए ए फिल्म्स भारतीय सिनेमाकै प्रख्यात वितरण कम्पनी हो, जसले बहुबली, आरआरआर, केजिएफ जस्ता फिल्म वितरण गरेको थियो । मिडलइस्ट डिस्ट्रिब्युटरमा फार्स फिल्मको मोसन पिक्चर्सले गर्ने फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले वितरणको जिम्म लिएको छ। जापानमा ‘टोकियो ड्रिम इन्टरटेनमेन्ट’ वितरक छन्।निर्माण टिमका अनुसार नेपाली फिल्मले यति ठूलो वितरकमार्फत भारतव्यापी प्रदर्शन पाउनु यो पहिलो पटक हो। थडानीले फिल्मको कथावस्तुले भाषा र भौगोलिक सीमा पार गरेर दर्शकसँग जोडिन सक्ने विश्वास व्यक्त गरेका छन्।