सुचना, समाचार र मनोरन्जन

सङ्गीतबाट अभिनयसम्मको यात्रा, सोनमका लागि ‘जलाकी’ किन विशेष ?

काठमाडौँ :

समय र नियतिको खेल पनि कस्तो विचित्र १ सन् २०२५ को जुन महिनामा ढोरपाटनमा सिनेमा ‘ऐरी’ को एक्सन दृश्य खिच्ने क्रममा भएको दुर्घटनामा कलाकार सोनम तोप्देनको देब्रे खुट्टा भाँचियो। जीवनकै पीडादायी क्षणमा उनलाई हेलिकप्टरबाट उद्धार गरी पोखरास्थित चरक मेमोरियल अस्पताल पुर्‍याइयो । चिकित्सकले कम्तीमा छ महिना पूर्ण आराम गर्न सल्लाह दिएपछि उनको हातबाट एउटा महत्त्वाकांक्षी प्रोजेक्ट फुत्कियो, त्यो थियो सिनेमा ‘जलाकी’ ।

बैसाखीको सहारामा हिँडिरहँदा सोनमका लागि शारीरिक पीडाभन्दा ठूलो पीडा आफूले मन पराएको कथाबाट अलग हुनुपर्दाको थियो । तर, संयोग र आत्मबलले उनलाई पुनः त्यही सिनेमाको मुख्य अभिनेताका रूपमा उभ्यायो। चोटका कारण उनी बाहिरिएपछि निर्माण टिमले अभिनेता धीरज मगरलाई अनुबन्धित गरेको थियो। धीरज अनुबन्धित भएकोमा उनी एकातिर खुसी थिए भने अर्कोतिर आफूले मन पराएको प्रोजेक्ट गुमाउनुपर्दा दुःखी पनि।

तर, महिनौँको कठोर फिजियोथेरापीपछि सोनम बिस्तारै स्वस्थ हुँदै गए । यसैबीच, निर्देशक अशोक थापा मगरले उनलाई ‘जलाकी’ मै सहायक भूमिकामा अभिनय गर्ने प्रस्ताव राखे। सिनेमासँग कुनै न कुनै रूपमा जोडिन पाउँदा सोनम खुसी भए। यता, धीरज अनुबन्धित भए पनि सिनेमाको छायांकन पूर्वनिर्धारित तालिकाअनुसार अघि बढ्न सकेको थिएन । छायांकनको समय लम्बिँदै जाँदा सोनमको खुट्टा पनि पूर्ण रूपमा निको हुँदै गयो। अन्ततः निर्माण टिम र धीरज मगरबीचको आपसी समझदारीमा सोनम सहायक भूमिकाबाट फेरि मुख्य भूमिकामै फर्किए।

त्यो उतारचढावपूर्ण समय सम्झँदै सोनम भन्छन्, ‘सिनेमामा धीरजको आगमनले खुसी त थिएँ तर आफू नभएकोमा स्याड भएर बसिरहेको थिएँ । त्यही बेला अशोक थापा मगरले त्यही सिनेमाको सपोर्टिङ रोलमा खेल्ने अफर गर्नुभयो । त्यसले मलाई झन् खुसी दियो । त्यसमाथि सिनेमाको सुटिङ सेड्युल पनि तन्किँदै गएको रहेछ । मेरो खुट्टा पनि बिस्तारै निको हुँदै गयो । र साइडबाट फेरि लिड रोलमै म जोडिने मौका पाएँ ।’

चोटका कारण बीचमै छाड्नुपरेको सिनेमा ‘जलाकी’ मै सोनम आगामी मंसिर ४ गते मुख्य पात्र ‘लाजिम’ को भूमिकामा दर्शकमाझ आउँदैछन् ।

Pach Pandav

पर्दापछाडिका यी आरोह-अवरोहलाई सोनम आफ्नो जीवनको महत्त्वपूर्ण अनुभव र सिकाइका रूपमा लिन्छन् । उनी भन्छन्, ‘सिनेमा ‘शाम्बाला’ मा मेरो अभिनय मन पराइएको कारण निर्देशक अशोक थापा मगरज्यूले मलाई ‘जलाकी’ को अफर गर्नुभएको थियो । बीचमा दुर्घटनाले मलाई टाढा पुर्‍याए पनि सायद यो कथा र पात्र मेरै भाग्यमा लेखिएको रहेछ, म फेरि फर्किएँ ।’

सोनमका लागि ‘जलाकी’ प्रेमकथामा मात्र सीमित छैन। यो नेपाली समाज र संस्कृतिसँग अझ नजिकिने माध्यम पनि हो । भारतको मनालीमा जन्मिएका सोनमले बाल्यकालका नौ वर्ष गुम्बामा बिताए। पारिवारिक जिम्मेवारीका कारण १० वर्षको उमेरमा उनले सांसारिक जीवन रोजेका थिए। वि.सं. २०७२ सालको भूकम्पपछि ‘स्म्युल’ एपमा विभिन्न गीतका कभर गाएर सोनम चर्चामा आएका थिए। उनले ‘हवायें’, ‘जीना जीना’, ‘दिल दियाँ गलाँ’, ‘फिर भी तुमको चाहुँगा’ र ‘मिले हो तुम’ जस्ता हिन्दी गीतका कभर गाएर श्रोताको मन जिते।

त्यसपछि नेपाली गीत ‘तिमी मेरो भविष्य’सहित ‘ता सेर्पो’, ‘छोए डाङ्पा’, ‘छाम्गोन ताई सितुपा’, ‘कुत्से तेन’ जस्ता तिब्बती र भुटानी गीतमार्फत पनि उनले आफ्नो सांगीतिक पहिचान फराकिलो बनाए । यही सांगीतिक यात्राकै क्रममा उनले ‘सम्हालिन्छ कहिले मन’ बाट नेपाली सिनेमामा अभिनय यात्रा सुरु गरे। ‘सम्हालिन्छ कहिले मन’ को ‘जरुरी कुरा छ’ गीतमा अभिनेत्री पूजा शर्मासँगको केमेस्ट्री होस् वा ‘जलाकी’ का ‘चाँदी जलप’, ‘जाले रुमाल मायालाई’, ‘कलेजीको छेउ’ र ‘पहिलो माया’ जस्ता गीतमा उपासना सिंह ठकुरीसँगको जोडी र सोनमको पर्दाको प्रस्तुतिले दर्शकमाझ चर्चा बटुलेको छ।

नेपालमै रहेर नेपाली भाषा, कला र संस्कृतिसँग आफूलाई जोड्दै आएका सोनमलाई अझै पनि कतिपयले बाहिरबाट आएको व्यक्तिका रूपमा हेर्ने गर्दा भने चित्त दुख्ने गरेको छ। त्यसैले पनि उनी ‘जलाकी’ लाई आफ्नो पहिचान थप बलियो बनाउने अवसरका रूपमा हेर्छन्। सिनेमाको कथावस्तुबारे उत्साहित हुँदै सोनम भन्छन्, ‘जलाकी मगर समुदायको संस्कृति, परम्परा र परिवेशमा जरा गाडेको एक  अर्गानिक प्रेमकथा हो। मगर संस्कृतिमा माया र सम्झनाको प्रतीक मानिने ढुंगाको स्तम्भ ‘जलाकी’ जस्तै यो सिनेमाले पनि दर्शकको मनमा गहिरो सम्झना छोड्नेछ।’

फिल्म प्रदर्शनपछि नेपाली दर्शकमाझ आफ्नो छुट्टै पहिचान स्थापित गर्ने अपेक्षा राखेका सोनम भन्छन्, ‘मलाई अझै पनि धेरैले चिन्नुभएको छैन । तर ‘जलाकी’ को पात्र र कथाले मलाई हरेक नेपाली दर्शकको मनसम्म पुर्‍याउनेछ भन्ने विश्वास छ ।’

त्रिकोणात्मक प्रेमकथामा आधारित यस सिनेमामा सोनमले अभिनयसँगै पार्श्व गायनमा समेत स्वर दिएका छन्। अशोक थापा मगरको निर्देशनमा बनेको सिनेमा ‘जलाकी’ मा सोनमसँगै उपासना सिंह ठकुरी मुख्य भूमिकामा छिन् ।

Leave A Reply

Your email address will not be published.