पोखरा,
फोहोरलाई समस्या मात्र नभई सम्भावना र आर्थिक अवसरका रूपमा उपयोग गर्ने उद्देश्यसहित पोखरामा आजदेखि दोस्रो संस्करणको आरयू फेस्ट सुरु हुँदैछ। पोखरा महानगरपालिकाको आयोजनामा मंसिर २ र ३ गते पोखरा इभेन्ट सेन्टरमा ‘आरयू फेस्ट–रि–थिङ्क २०२६’ आयोजना हुन लागेको हो।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फोहोरलाई नयाँ दृष्टिकोणबाट हेर्न, त्यसको मूल्य पहिचान गर्न र पोखराको भविष्यलाई चक्रीय अर्थतन्त्रमा आधारित बनाउन महोत्सव आयोजना गरिएको बताए।
‘फोहोरलाई नयाँ दृष्टिकोणबाट हेरौँ, यसको मूल्य पहिचान गरौँ र पोखराको भविष्यलाई चक्रीय बनाऔँ’ भन्ने सन्देशसहित आयोजना हुने महोत्सवले रिसाइक्लिङ र अपसाइक्लिङको अवधारणालाई व्यवहारमा उतार्न प्रेरित गर्ने उनको भनाइ छ।
महोत्सवमा रिसाइक्लिङ तथा अपसाइक्लिङ उद्यमी, युवा नवप्रवर्तक, विद्यार्थी, समुदाय, निजी क्षेत्र र सर्वसाधारणलाई एउटै थलोमा जोडेर फालिएका सामग्रीलाई उपयोगी तथा वातावरणमैत्री उत्पादनमा रूपान्तरण गर्ने सम्भावना प्रदर्शन गरिनेछ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले फोहोरको पुनःप्रयोग र पुनःप्रशोधनबाट उपयोगी सामग्री उत्पादन गर्न सकिने बताए। यसले फोहोर व्यवस्थापनमा सहयोग पुर्याउनुका साथै पोखरालाई सफा, सुन्दर र वातावरणमैत्री सहर बनाउन योगदान गर्ने उनको भनाइ छ।

उनका अनुसार महोत्सवले विद्यार्थीमा सिर्जनशीलता र नयाँ कुरा सिक्ने रुचि बढाउनुका साथै महिलाका लागि रोजगारी तथा उद्यमशीलताका अवसर सिर्जना गर्न पनि सहयोग पुर्याउनेछ।
महोत्सवमा फोहोरबाट तयार गरिएका विभिन्न सामग्री, सिर्जनात्मक उत्पादन, नयाँ प्रविधि तथा उद्यमशीलताका अभ्यास प्रदर्शन गरिनेछ। विद्यार्थी, युवा र नवप्रवर्तकलाई आफ्ना सिर्जना तथा नवीन सोच प्रस्तुत गर्ने अवसरसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
यसपटकको महोत्सवको विशेष आकर्षण १४ फिट अग्लो विशाल टेडी बियर ‘रुरु’ रहनेछ। फालिएका कपडा तथा प्रयोग भइसकेका सामग्रीबाट म्युज नेपालले निर्माण गरेको रुरुको भित्री संरचना बाँसबाट तयार गरिएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भाटभटेनी, रानीपौवा र गौरिघाट पार्कलगायतका सार्वजनिक स्थलमा प्रदर्शन गरिएको रुरुलाई महोत्सवका दुवै दिन पोखरा इभेन्ट सेन्टरमा राखिनेछ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालको प्राविधिक सहयोगमा सञ्चालित ‘ग्रिन जब क्रिएसन थ्रु रिसाइक्लिङ एन्ड अपसाइक्लिङ इन पोखरा’ परियोजनाअन्तर्गत महोत्सव आयोजना गरिएको हो। परियोजनाले फोहोर व्यवस्थापनसँगै हरित रोजगारी र उद्यमशीलता विकासमा जोड दिँदै आएको छ।
सन् २०२५ मा पहिलोपटक आयोजना गरिएको आरयू फेस्टमा पाँच हजारभन्दा बढीले अवलोकन गरेका थिए। पहिलो संस्करणको उत्साहलाई निरन्तरता दिँदै यसपटक थप प्रभावकारी र उपलब्धिमूलक बनाउने आयोजकको लक्ष्य छ।
फालिएका सामग्रीलाई स्रोतका रूपमा उपयोग गर्दै उत्पादन, रोजगारी र वातावरण संरक्षणलाई एकसाथ अघि बढाउने चक्रीय अर्थतन्त्रको अवधारणालाई प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको छ।