काठमाडौँ :
विपना थापा,पल शाह,मलिका महत सहित फिल्म ‘आ बाट आमा–२’ को प्रचारप्रसारका लागि देश दौडाहामा छन्। यहीँ अशोज ३० गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको प्रचारप्रसारलाई तिब्रता दिएको हो। सोही अनुरुप उनीहरुको टिम बुटवलमा भव्य कन्सर्ट गरेका छन्। पल शाह,मलिका महत,विपना थापाको प्रस्तुती हेर्नका लागि सबेरै बुटवलको गोलपार्कमा हजारौँ दर्शक उपस्थिति रहेको थियो।
उक्त कन्सर्टमा फिल्मका तर्फबाट विपना थापा, पल शाह, आकाश श्रेष्ठ, मालिका महत, निकिता आचार्य र रिस्ता गुरुङसँगै गायक बाबुल गिरी तथा गायिका गंगा सोनाम, जुरी लगायतको उपस्थिति रहेको थियो। यस फिल्मका गायक,संगीतकार तथा गीतकार गायक बाबुल गिरी र गायिका गंगा सोनामले फिल्मकै गीत गाएर दर्शकलाई मनोरञ्जन दिए।


उनीहरुको गीतसँगै दर्शकको रोजाईमा परेका पल शाह,मलिका महत,विपना थापा,निकिता आचार्य,आकाश श्रेष्ठका साथै रिश्ता गुरुङले नाचेर माहोल तताएका थिए। बिहिबार रिलिज भएको ‘दशैँ गीत’मा नृत्य प्रस्तुत गर्दा दर्शकको हुटिङ उस्तै बबाल थियो। फिल्मका निर्देशक चन्द्र पन्तले फिल्मको प्रचारप्रसारलाई तिब्र पार्नका लागि कन्सर्टमा आफुहरु हिडेको बताए। उनले दर्शकको माया अथाह पाइरहेको सुनाए।
उनले भने,‘कन्सर्टमा कलाकारहरुको उपस्थितिले दर्शकहरु सबेरै आउनु भएको रहेछ। स्टेजमा पल,मलिका स्टेजमा जाने वितिक्कै दर्शकको हुटिङ असाध्यै आएको थियो। अभिनेत्री बिपना थापालाई प्रत्यक्ष देख्दा दर्शकको तालि र हुटिङ्ग आएको थियो भने आकाश श्रेष्ठ र निकिता आचार्यको नृत्यमा वान्स मोर आइरहेको थियो। गायक बाबुल र गंगाको गीतमा दर्शकबाट उस्तै माया पाइयो।’
निर्देशक पन्त सहितको टिमले कन्सर्टमा जानुअघि फिल्मका बारेमा पत्रकारसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम राखेका थिए। चलचित्र पत्रकार संघ रुपन्देहीका निवर्तमान अध्यक्ष मोहन न्यौपानेको संयोजनमा कलाकार तथा पत्रकारबीच फिल्मको बारेमा चर्चा गरिएको थियो। निर्देशक चन्द्र पन्तकै कथा तथा पटकथा रहेको यस फिल्ममा पल शाह, मलिका महत र बिपना थापा,रिश्ता गुरुङ,निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायतको मुख्य भूमिका छ।
यस फिल्मको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्ट पनि रहेका छन्। करण सिंह फिल्मको प्रोडक्सन एक्जिक्युटिभ रहेको यस फिल्ममा नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको सङ्गीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ भने फिल्मलाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने जिम्मा लिएको छ।