सुचना, समाचार र मनोरन्जन

कपिलवस्तुबाट भारतीय मदिरासहित कार नियन्त्रणमा

वैशाखमा २८ लाख बढी राजस्व संकलन

कपिलवस्तु,

कपिलवस्तुमा ट्राफिक प्रहरीले चेकजाँचका क्रममा अवैध मदिरासहित भारतिय कार नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुका अनुसार  शनिबार बिहान करिब ११ बजे जिल्ला कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित रेन्जर पोष्ट नजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा भारतबाट ल्याइएको अवैध मदिरा बरामद गरिएको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको DL4CNE9412 नम्बरको टोयटा कारलाई चेकजाँच गर्दा आवश्यक भन्सार तथा अन्य कागजात नभेटिएपछि नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गे ल्याइएको थियो ।

प्रहरीले कारको दोस्रो सिट पछाडि फल्स बटम बनाई लुकाइछिपाई राखिएको अवस्थामा “For Sale In Haryana Only Made In India” लेखिएको मदिरा फेला पारेको जनाएको छ । बरामद मदिरामा रोयल स्ट्याग ७५० एमएलका १०३ वटा, ३७५ एमएलका ५९ वटा, १८० एमएलका ४५ वटा तथा सिग्नेचर (Signature) ७५० एमएलका २६ वटा गरी जम्मा २३३ वटा मदिरा रहेका छन् । बरामद मदिरा र सवारी साधनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तौलिहवा पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जिल्लाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदै सवारी दुर्घटना न्यूनीकरणका लागि वैशाख महिनाभर व्यापक चेकजाँच अभियान सञ्चालन गरेको जनाएको छ ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक राजन ढकाल का अनुसार वैशाख महिनामा १ हजार ७०९ वटा सवारी साधनलाई चेकजाँच गरी ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि कारवाही गर्दा २८ लाख २७ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ ।

त्यसैगरी क्षमता भन्दा बढी भार बोकेर सञ्चालन भएका ५२० वटा ओभरलोड सवारी साधनलाई यातायात व्यवस्था कार्यालय पठाई प्रति सवारी १० हजार रुपैयाँका दरले जरिवाना गराइएको उनले जानकारी दिए । यसबाट यातायात व्यवस्था कार्यालयमार्फत ५२ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

राजमार्गमा सञ्चालन हुने सवारी साधनमा जडान गरिएका अतिरिक्त सिट, अनावश्यक लाइट तथा झालर हटाउने अभियानअन्तर्गत १३५ वटा सवारी साधनमा रहेका अतिरिक्त सामग्री हटाइएको प्रहरीले जनाएको छ । साथै १५ वटा सवारी साधनका हाइटप हुट समेत हटाइएको प्रहरी निरीक्षक ढकालले बताए ।

Leave A Reply

Your email address will not be published.