सुचना, समाचार र मनोरन्जन

आँधी बनेर छायो ‘बेहुली’को ट्रेलर: नेपालमा नम्बर वनसहित विश्वका ११ देशमा ग्लोबल ट्रेन्डिङमा

काठमाडौं :

यही शूक्रबार (भदौ २६ गते)बाट सिनेमाघरहरूमा प्रदर्शनको पर्खाइमा रहेको  चलचित्र ‘बेहुली’ले रिलिज अगावै डिजिटल दुनियाँमा सुनामी ल्याएको छ। आइतबार साँझपख सार्वजनिक गरिएको यसको सशक्त ट्रेलरले छोटो समयमै दर्शकको मुटुमा राज गर्दै आक्रामक क्रेज सिर्जना गरेको हो।

ट्रेलर सार्वजनिक भएको जम्मा १८ घन्टाभित्रै नेपालको युट्युब ट्रेन्डिङको शीर्ष स्थान (नम्बर १) कब्जा गरेको ‘बेहुली’को जादु स्वदेशमा मात्र सीमित रहेन। नेपाली दर्शकहरूको बाक्लो उपस्थिति रहेका खाडी मुलुकदेखि युरोपसम्म यसले आफ्नो बलियो प्रभाव छाड्दै विश्वका ११ देशहरूको ट्रेन्डिङ चार्टमा सानदार इन्ट्री मारेको छ। कुवेतमा दोस्रो, कतार र रोमानियामा चौथो, साउदी अरबमा नवौँ, पोर्चुगलमा दशौँ, मलेसियामा एघारौँ, दक्षिण कोरियामा बाह्रौँ, जापानमा तेह्रौँ, यूएईमा चौधौँ र अष्ट्रेलियामा पन्ध्रौँ स्थान ओगट्दै यो चलचित्रले ग्लोबल प्लेटफर्ममा आफ्नो सफलताको झन्डा गाडेको छ।

पर्दाभित्रको कथा जति मनमोहक छ, पर्दाबाहिर निर्माण पक्षले देखाएको मानवीय संवेदना उत्तिकै तारिफयोग्य छ। देशले भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीको विपद् सामना गरिरहँदा निर्माण टिमले आफ्ना सम्पूर्ण प्रचारप्रसार स्थगित गरेर राष्ट्रिय शोकमा ऐक्यबद्धता जनाएको थियो।

स्थिति केही सहज भएसँगै यो ट्रेलर दर्शकमाझ ल्याइएको हो। सोही कार्यक्रममा प्रस्तुतकर्ता तथा निर्माता अर्जुन पोखरेलले एक हृदयस्पर्शी घोषणा गरे। चलचित्रले बक्स अफिसमा गर्ने कुल कमाइबाट निर्माताको भागमा पर्ने सम्पूर्ण रकमको ५ प्रतिशत हिस्सा प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमार्फत भोटेकोसीका बाढी प्रभावितलाई दिइने उनले घोषणा गरे।

सार्वजनिक ट्रेलरमा माया, पारिवारिक सम्बन्ध र मित्रताका विविध आयामहरूलाई निकै सुन्दर र कलात्मक ढङ्गले उनिएको छ। विशेषगरी सामाजिक सञ्जालमा ‘कुल ब्वाई’को उपनामले चिनिएका पारस बम ठकुरी र अभिनेत्री दिव्या रायमाझीबिचको अनस्क्रिन रोमान्टिक केमेस्ट्रीले दर्शकलाई मन्त्रमुग्ध बनाएको छ।

यसका अलावा अभिनेता सुशान्त कार्कीको प्रहरीको दमदार अवतार, लोकप्रिय कमेडियन पदम तामाङको हँसाउने शैली र सन्तोष बानियाको विल्कुलै फरक एवं प्रभावशाली अभिनयले ट्रेलरलाई कौतुहलताको शिखरमा पुर्‍याएको छ। सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस चलचित्रमा सरिता गिरी, विशाल पहारी, कर्मा लामा लगायतका कलाकारहरूको अभिनय रहेको छ। द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको यस चलचित्रका निर्माता प्रताप शमशेर राणा हुन्।

Leave A Reply

Your email address will not be published.