काठमाडौं :
सुमन श्रेष्ठ र जियोन तामाङ ‘फेस अफ नेपाल २०२६’को विजेता बनेका छन्। ग्वार्कोस्थित रोयल टुलिपमा आइतबार सम्पन्न ग्रान्ड फिनालेमा महिला विधातर्फ सुमन श्रेष्ठ विजेता बनेकी हुन् भने पुरुषतर्फ जियोन तामाङ।
त्यस्तै प्रतियोगी आइस्ता जोशी र अनिशा श्रेष्ठ पनि विजेता घोषित भएका छन्। अब यी चारै जनाले नोभेम्बरमा दक्षिण कोरियामा आयोजना हुने ‘एसिया मोडल फेस्टिभल’मा नेपालको प्रतिनिधित्व गर्नेछन्। एमएस प्रोडक्सनले आयोजना गरेको प्रतियोगिताको फिनालेमा ८ जना महिला र ११ जना पुरुष गरी कुल १९ जना प्रतियोगी थिए।
बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिका बीच ‘फेस अफ नेपाल’को ग्रान्ड फिनाले सम्पन्न भएको हो। विपत्तिको अवस्थालाई ध्यानमा राख्दै आयोजकले कार्यक्रमलाई एक सातापछि सारेको थियो। तर, प्रायोजक र फिनालेको लोकेसन पहिल्यै तय भइसकेकाले थप समय सार्न सम्भव नभएको नेसनल डाइरेक्टर मेनुका माझीले बताइन्। ‘यस्तो ठूलो विपत्तिबीच पनि कार्यक्रम सफल बनाउनुपर्ने चुनौती थियो त्यो चुनौती पार गर्दै भव्य रूपमा ग्रान्ड फिनाले सम्पन्न गरेका छौं,’ माझीले भनिन्।
उनका अनुसार आयोजक टिमले बाढीपीडितका लागि राहतसमेत वितरण गरेको थियो। कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण प्रायोजक तथा साथ दिने सबैप्रति उनले आभार व्यक्त गरेकी छन्। ‘यस्तो अवस्थामा पनि फेस अफ नेपाल भव्य र सभ्य रूपमा सम्पन्न गर्न पाउँदा खुसी लागेको छ,’ उनले भनिन्।
फिनालेको निर्णायकमा एसिया मोडल फेस्टिभलका अध्यक्ष याङ युई सिङ, फेस अफ नेपाल-२०२१ तथा अभिनेत्री, मोडल नीति शाह, राष्ट्रिय निर्देशक मेनुका माझी, फेस अफ नेपाल-२०२४ का हिमाञ्चल राज केसी, भ्यालेन्टिनो बुटिक तथा भ्यालेन्टिनो इन्टरनेसनल कलेज अफ फेसन एन्ड इन्टेरियरका संस्थापक तथा फेसन डिजाइनर सुकनीता चौलागाईं र नेपालका लागि कोस्टारिका गणराज्यका मानार्थ वाणिज्यदूत तथा ग्लोबल इक्विटी फन्डका संस्थापक प्रबन्धक साझेदार मनीष थापा रहेका थिए। ‘फेस अफ नेपाल २०२६’को मुख्य प्रायोजन स्टार बोस कफी तथा सह-प्रायोजन यामाहा रेसिङले गरेको हो।