काठमाडौं :
माइकल चन्दको निर्देशनमा बन्न लागेको नयाँ नेपाली फिल्म ‘राम नाम सत्य’मा टिकटकबाट चर्चामा आएका कन्टेन्ट क्रिएटर आयुष सिंह ठकुरीको अभिनय प्रवेश भएको छ। आज निर्माणपक्ष र आयुषबीच औपचारिक कागजी सम्झौता सम्पन्न भएको हो।
आयुषको यो पहिलो फिल्म (डेब्यू) हो। फिल्मका निर्देशक माइकल चन्द र निर्माता उपेन्द्र शाहीले संयुक्त रूपमा उनलाई अनुबन्धित गरेका हुन्।
संझौता पश्चात् आयुषले सञ्चारकर्मीहरूसँग भने,“मलाई थुप्रै फिल्म अफर आइरहेका थिए, तर ‘राम नाम सत्य’को कथा र मेरो भूमिकाको गहिराइ मन परेपछि यो फिल्मबाट अभिनय यात्रा सुरु गर्ने निर्णय गरेँ।”
निर्देशक चन्दका अनुसार आयुषले फिल्मको तयारीका क्रममा केही समयदेखि एक्सन तालिम लिइरहेका छन् र अब अभिनयको कोर्स पनि सुरु गर्नेछन्। एक्सन, सस्पेन्स र प्रेमकथा मिश्रित फिल्म ‘राम नाम सत्य’को छायांकन साउन २९ गते शुभ साइतमा सुरु गरिने तयारी निर्माण टिमले जनाएको छ।
फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट,साथै अर्पण थापा,सुनिल थापा,दिनेश डीसी र रवि गिरीलगायत कलाकारहरूको अभिनय रहनेछ। निर्माण टिमका अनुसार एक नायिकाको छनोटपछि मुख्य कलाकारहरूको लाइनअप पूरा हुनेछ।
उपेन्द्र शाही र श्वेता विमली निर्माता रहेको फिल्ममा किशोर भट्ट र डा. डीआर उपाध्याय सह–निर्माताको रूपमा छन्। तेज विक्रम केसी हेड अफ प्रोडक्सन छन् भने नविन जंग शाह कास्टिङ निर्देशकका रूपमा जोडिएका छन्।
संजय लामा फिल्मका छायाँकार (डीओपी) हुन्। छायांकन चितवन, काठमाडौंलगायत स्थानहरूमा गरिनेछ। फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहनेछ। यसलाई माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण गरिनेछ।