पोखरा,
देशको राजनीतिक तथा सामाजिक परिवर्तनमा युवाको नेतृत्व स्थापित हुँदै गएको अवस्थामा उद्योग व्यवसाय क्षेत्रको नेतृत्वमा पनि युवाको सक्रिय सहभागिता आवश्यक रहेको बहस चलिरहेका बेला भदौ २० र २१ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा युवा व्यवसायी सौगात थापा उद्योग उपाध्यक्ष पदका लागि चुनावी मैदानमा छन्।
शोभा गौतम नेतृत्वको प्यानलबाट उम्मेदवारी दिएका थापा यतिबेला पोखराका उद्योगी–व्यवसायीको घरदैलोमा पुगेर आफ्ना एजेन्डा र प्रतिबद्धता प्रस्तुत गरिरहेका छन्। व्यवसायीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, अपेक्षा र सुझाव सुन्दै आएका थापाले घरदैलो अभियानका क्रममा सकारात्मक प्रतिक्रिया पाइरहेको बताएका छन्।
देशमा परिवर्तनको नेतृत्व युवाले गर्न सक्छन् भन्ने उदाहरण राजनीतिक क्षेत्रमा समेत देखिन थालेको उल्लेख गर्दै थापाले उद्योग वाणिज्य संघको नेतृत्व तहमा पनि युवालाई अवसर दिनुपर्नेमा जोड दिएका छन्। उनका लागि युवाको ऊर्जा र नयाँ सोचसँगै अग्रज व्यवसायीको अनुभवलाई आत्मसात गर्दै अघि बढ्नु नै नेतृत्वको सही बाटो हो।
थापाले उद्योगी–व्यवसायीका समस्या सुन्ने र आश्वासन दिनेभन्दा पनि त्यसको समाधानका लागि संस्थागत तथा ठोस पहलकदमी गर्ने आफ्नो प्राथमिकता रहेको बताएका छन्।
व्यवसायमैत्री नीति निर्माणका लागि सम्बन्धित निकायसँग सशक्त पैरवी गर्ने, उद्योगी–व्यवसायीका आवाजलाई राज्यका सम्बन्धित तहसम्म पु¥याउने र संघलाई व्यवसायीको साझा आवाजका रूपमा थप प्रभावकारी बनाउने उनको प्रतिबद्धता छ।
‘व्यवसायीका समस्या सुन्ने मात्र होइन, समाधानका लागि ठोस पहलकदमी गर्ने नेतृत्व आजको आवश्यकता हो। संघभित्रका कमजोरी पहिचान गर्दै व्यवसायीका वास्तविक समस्या र आवाजलाई संस्थागत गरेर परिणाममुखी काम गर्ने मेरो प्राथमिकता हो,’ थापाले भने।
उनका अनुसार संघको नेतृत्व व्यवसायीको दैनिक जीवन र व्यवसायसँग जोडिएका समस्या बुझ्ने तथा समाधानका लागि निरन्तर सक्रिय रहने खालको हुनुपर्छ। व्यवसायीले भोगिरहेका समस्या, बजारको अवस्था, नीति–नियमका जटिलता तथा राज्यका विभिन्न निकायसँगको समन्वयलाई प्रभावकारी बनाउन संघको भूमिका अझ बलियो बनाउनुपर्ने उनको धारणा छ।
सौगातको उम्मेदवारी केवल निर्वाचन जित्ने उद्देश्यमा सीमित नभई युवा व्यवसायीलाई संघको मूलधारमा जोड्ने अभियानका रूपमा पनि प्रस्तुत गरिएको छ।
आफ्नै उमेर समूहका धेरै युवाहरू रोजगारी तथा अवसरको खोजीमा विदेश पलायन भइरहेका बेला थापाले भने पोखरामै लगानी गर्दै व्यवसाय र रोजगारी सिर्जनाको वातावरण निर्माणमा सक्रियता देखाउँदै आएका छन्।
युवालाई विदेश जानबाट रोक्न भाषणभन्दा पनि स्वदेशमै व्यवसाय गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको बुझाइ छ। त्यसका लागि लगानीमैत्री वातावरण, सीप विकास, उद्यमशीलता प्रवद्र्धन तथा नयाँ व्यवसायीलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको उनी बताउँछन्।
‘युवालाई अवसर र विश्वास दिन सकियो भने उनीहरू स्वदेशमै बसेर लगानी गर्न सक्छन्। युवालाई नेतृत्वमा ल्याउने हो भने त्यसले एउटै व्यक्तिलाई मात्र होइन, नयाँ पुस्ताका धेरै व्यवसायीलाई संघ र व्यवसायप्रति जोड्ने वातावरण बनाउँछ,’ थापाले भने।
पोखराको पर्यटन सम्भावनालाई युवाको उद्यमशीलतासँग जोड्नुपर्ने विषयलाई पनि थापाले आफ्नो उम्मेदवारीको महत्वपूर्ण एजेन्डा बनाएका छन्।
प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनका दृष्टिले पोखरा सम्भावनायुक्त शहर भएको भन्दै उनले नयाँ पुस्ताका व्यवसायीलाई पर्यटन क्षेत्रमा आकर्षित गर्न आवश्यक नीति तथा कार्यक्रमका लागि संघमार्फत पहल गर्ने बताएका छन्।
पर्यटनमा नयाँ अवधारणा, प्रविधि र युवाको सिर्जनशीलतालाई जोड्न सके पोखरामा थप रोजगारी र लगानीका अवसर सिर्जना गर्न सकिने उनको विश्वास छ।
थापाले उद्योग वाणिज्य संघको नेतृत्वमा युवाको प्रतिनिधित्व बढाउनुको अर्थ अग्रजलाई विस्थापित गर्नु नभई अग्रजको अनुभव र युवाको ऊर्जालाई एकै ठाउँमा जोडेर अघि बढ्नु भएको बताएका छन्।
उनको अभियानमा नयाँ सोच, प्रविधिमैत्री कार्यशैली, व्यवसायीका समस्या समाधानका लागि सक्रिय पैरवी र परिणाममुखी कामलाई प्राथमिकतामा राखिएको छ।
व्यवसायीको पीरमर्का नजिकबाट बुझ्ने, उनीहरूको आवाजलाई संस्थागत गर्ने र आवश्यक पर्दा सम्बन्धित निकायसँग प्रभावकारी रूपमा पैरवी गर्ने नेतृत्व आवश्यक रहेको थापाको भनाइ छ।
‘अग्रजहरूको अनुभव हाम्रो शक्ति हो भने युवाको जोश र नयाँ सोच परिवर्तनको ऊर्जा हो। यी दुवैलाई सँगसँगै लिएर अघि बढ्न सके मात्र संघलाई अझ बलियो, प्रभावकारी र व्यवसायीमैत्री बनाउन सकिन्छ,’ थापाले भने।
पोखरा उद्योग वाणिज्य संघमा युवा व्यवसायीको आवाजलाई थप प्रभावकारी रूपमा स्थापित गर्न आफू चुनावी मैदानमा आएको बताउँदै थापाले आगामी महाधिवेशनमा व्यवसायीले युवालाई अवसर दिने विश्वास व्यक्त गरेका छन्।
उनका लागि यो उम्मेदवारी पद प्राप्तिको मात्र विषय नभई युवा व्यवसायीलाई नेतृत्वसँग जोड्ने, व्यवसायीका समस्या समाधानका लागि सशक्त आवाज उठाउने र संघलाई परिणाममुखी संस्थाका रूपमा अघि बढाउने अभियान भएको दाबी छ।