सुचना, समाचार र मनोरन्जन

बाढी प्रभावित क्षेत्रमा राहत लिएर पुगे ‘बल्छी धुर्बे’सहित जुठे र हल्का रमाइलोका कलाकार

काठमाडौं :

मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’सहित टेलिश्रृंखला ‘जुठे’ र ‘हल्का रमाइलो’का कलाकारहरू भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत वितरणका लागि जुटेका छन्।

टोलीले सोमबार नुवाकोटको विदुरमा २० घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ। यसअघि त्रिशुली–११, गेर्खु तथा विदुर–२ लगायतका क्षेत्रमा ३० भन्दा बढी बाढी प्रभावित घरपरिवारलाई लत्ताकपडा, खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको ‘बल्छी धुर्बे’ले जानकारी दिए।

उनका अनुसार टोलीले करिब १ लाख रुपैयाँ बराबरको राहत सामग्री प्रभावित परिवारलाई वितरण गरेको हो।  राहत वितरणको दोस्रो चरणका लागि टोली अहिले बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिकातर्फ प्रस्थान गरेको छ। टोलीमा ‘बल्छी धुर्बे’सँगै ‘बान्द्रे’, ‘पुकु’ र ‘साहुनी’ पात्रको भूमिकामा देखिने कलाकारहरू सहभागी छन्। राहत वितरणमा स्थानीय खगेन्द्र पोखरेलले समन्वय गरिरहेका छन्।

प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारसँग भेट्दा उनीहरूले सरकारी राहत समयमै प्राप्त गर्न नसकेको गुनासो गरेको ‘बल्छी धुर्बे’ले बताए।

उनले भने, ‘धेरैजनाले मलाई प्रत्यक्ष रूपमा भन्नुभयो र म्यासेज पनि गर्नुभएको छ। सरकारले राहत सामग्री होल्डिङ सेन्टरमा मात्रै राखेर हुँदैन, तत्काल प्रभावित परिवारसम्म पुर्‍याउनुपर्छ।’

सरकारले राहत वितरणमा अपनाउँदै आएको एकद्वार प्रणालीलाई पुनर्विचार गरी बहुद्वार प्रणालीमार्फत पनि राहत सामग्री प्रभावितसम्म पुर्‍याउने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ। बाढी र पहिरोका कारण ठूलो क्षति व्यहोरेका परिवारलाई प्रत्यक्ष भेटेर राहत उपलब्ध गराउने उद्देश्यले कलाकारहरूको टोली प्रभावित क्षेत्रमा पुगेको हो। उनीहरूले आगामी दिनमा पनि आवश्यकताअनुसार राहत तथा सहयोगलाई निरन्तरता दिने बताएका छन्।

Leave A Reply

Your email address will not be published.