सुचना, समाचार र मनोरन्जन

‘अभिमन्यु : च्याप्टर–१’ प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया, बिहीबारदेखि प्रदर्शन

काठमाडौं :

ललितपुरस्थित लबिम मालको क्युएफएक्स हलमा सोमबार साँझ गरिएको नेपाली फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को प्रिमियर शोले उत्कृष्ट प्रतिक्रिया पाएको छ। दर्शक तथा कलाकारले फिल्मको कथावस्तु, निर्देशन, अभिनय र सस्पेन्सयुक्त प्रस्तुतिको प्रशंसा गरेका छन्।

प्रिमियरमा सहभागिहरूले फिल्मको सरप्राइजिङ स्टोरीटेलिङ, कौतुहलता सिर्जना गर्ने शैली र मजबुत अभिनयलाई यसको बलियो पक्ष बताउँदै सकारात्मक प्रतिक्रिया दिए।

अभिनेता दिव्यदेव पन्तले फिल्मले परम्परागत रूपमा चित्रित हुँदै आएका महिला पात्रको प्रस्तुतिलाई तोडेका कारण विशेष प्रभावशाली बनेको टिप्पणी गरे। निर्माता विनोद पौडेलले ‘अन्डररेटेड’ कलाकारमाथि गरेको विश्वासले राम्रो परिणाम दिएको उनको भनाइ छ।

निर्देशक सोभित बस्नेतले पछिल्लो समय स्टारभन्दा कलाकार–केन्द्रित सिनेमाप्रति दर्शकको रुचि बढिरहेको विश्लेषण गर्दै ‘अभिमन्यु’ले दर्शकलाई अन्तिमसम्म बाँधेर राख्ने विश्वास व्यक्त गरे।

मोडल तथा अभिनेत्री अलिआशा बास्तोला र रुषा न्यौपानेले पनि फिल्मको सस्पेन्स, अभिनय र मेकिङलाई उच्च प्रशंसा गर्दै ‘ब्लकबस्टर’ सम्भावना रहेको प्रतिक्रिया दिए। अभिनेत्री लक्ष्मी बर्देवाले गर्भवती अवस्थामा पनि आफ्नो भूमिका निभाएको खुलासा गर्दै कथाले उनलाई काम गर्न प्रेरित गरेको बताइन्।

मुख्य अभिनेता कामेश्वर चौरसिया भने प्रिमियरपछि भावुक देखिए। लामो संघर्षपछि बलियो स्क्रिप्टसहित मुख्य भूमिकामा देखिन पाएकोमा खुशी व्यक्त गर्दै उनले आफ्नो अभिनयलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरे।

सुशान्त गौतम निर्देशित र मदन थापा क्रिएटिभ निर्देशक रहेको फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन्।

‘अभिमन्यु : च्याप्टर–१’ यही बिहीबारदेखि नेपालभर प्रदर्शनमा आउनेछ। फिल्म नेपाली र हिन्दी दुवै भाषामा विश्वव्यापी रूपमा रिलिज हुँदैछ।

Leave A Reply

Your email address will not be published.