काठमाडौं :
निर्देशक शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’ को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत ३ मिनेट १ सेकेन्ड लामो ट्रेलर रिलिज भएको हो।
ट्रेलरले अष्ट्रेलिया पढ्न जाने नेपाली युवाको संघर्षलाई प्रस्तुत गर्दछ। रिण लिएर विदेशिएका युवाहरूले सोचेअनुसार ‘पीआर’ लिन नपाउँदा, परिवारले पनि उताको वास्तविकता नबुझ्दा उत्पन्न हुने मनोवैज्ञानिक, आर्थिक र सामाजिक दबाबलाई फिल्मले देखाउने संकेत ट्रेलरले गर्छ। साथै यसमा लभ स्टोरी, बिछोड र मातृभूमिप्रतिको भावनात्मक लगाव पनि केन्द्रमा राखिएको छ।
आगामी मंसिर २६ गतेदेखि अल नेपाल रिलिज हुने फिल्मको प्रचारका लागि अष्ट्रेलियामा बस्दै आएका आर ए सुरज पौडेल र विनिता कार्की नेपाल आएका छन्। उनीहरू पनि फिल्मका मुख्य भूमिकामा छन्।
फिल्ममा राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिका भने नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. नेपाल र दिक्पाल कार्कीले निर्वाह गरेका छन्।
ट्रेलरमा नीर शाहको संवाद “नेपालीको जवानी अष्ट्रेलियामा लगानी” विशेष रूपमा उठान गरिएको छ।
सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको ‘पीआर’को प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको हो। फिल्ममा लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्।
छायांकन सौरभ सायमी र सौरभ लामा, सम्पादन बन्दे प्रसाद, लेखन गणेश बुढाथोकी र संगीत मानस राजको रहेको छ। गीतमा सनुप पौडेल र नीतु पुनको स्वर सुन्न सकिन्छ। फिल्मका कोरियोग्राफर रामजी लामिछाने हुन् भने वितरण आर आर फिल्म्सले गर्नेछ।