सुचना, समाचार र मनोरन्जन

प्रेम, अपहरण र फिरौतीको कथा बोकेको ‘अभिमन्यु’ को ट्रेलर सार्वजनिक

काठमाडौं :

यही भदौ २७ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को ट्रेलर आज सार्वजनिक गरिएको छ। चलचित्रको ट्रेलरले प्रेम, अपहरण र फिरौतीको कथालाई उजागर गरेको छ।

ट्रेलरले एक घरबारबिहीन युवकले पैसाका लागि गरेको अपराधिक योजनालाई प्रस्तुत गरेको छ। कथामा प्रेम सम्बन्धको नाटक गरेर आफ्नै प्रेमीलाई अपहरण गरी उसको बाबुसँग फिरौती माग्ने योजनालाई मुख्य रुपमा देखाइएको छ। पैसा पाउने लोभमा कसरी एक व्यक्ति अपराधको चक्रव्यूहमा फस्छ र त्यसबाट उम्किन संघर्ष गर्छ भन्ने मनोवैज्ञानिक पक्ष ट्रेलरमार्फत उजागर गरिएको छ।

चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायत कलाकारको अभिनय छ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको चलचित्र ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गरेका छन्। मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन्। निर्माता विनोद पौडेल र गुञ्जन गिरी रहेका छन् भने सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ छन्। कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।

जीवन शाक्य लाइन प्रोड्युसर रहेका चलचित्रमा शरद महतोको छायांकन, मदन घिमिरेको सम्पादन, सुप्रिम पराजुलीको रंग संयोजन र मनोज श्रेष्ठको भिएफएक्स रहेको छ। चलचित्रको हिन्दी संस्करण असोज ६ (सेप्टेम्बर २२) मा विश्वव्यापी रुपमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ।

Leave A Reply

Your email address will not be published.