सुचना, समाचार र मनोरन्जन

‘गजनी’ अभिनेता प्रदीप रावतसँग चन्द्र पन्तको फिल्म ‘आबाट आमा’ छायांकनमा

काठमाडौं :

निर्देशक चन्द्र पन्तको फिल्म ‘आबाट आमा’ को छायांकन बिहीबार चितवनको देवघाटबाट सुरु भएको छ। छायांकन सुरु हुनुअघि तनहुँको एक मन्दिरमा विधिपूर्वक शुभसाइत पूजा गरिएको थियो।

फिल्मको छायांकनका लागि भारतबाट अभिनेता प्रदीप रावत चितवन पुगेका छन्। उनीसँगै विपना थापा, उषा उप्रेती, सिम्रन पन्त लगायत कलाकार पनि हाल चितवनमा छन्। निर्देशक पन्तका अनुसार चलचित्रको छायांकन चितवनमा २५ दिन र बाँकी १० दिन काठमाडौं, पोखरामा हुनेछ।

‘गजनी’ फिल्ममा खलपात्रको भूमिका निभाएर चर्चामा आएका बलिउड अभिनेता रावतले यस चलचित्रमा पल शाहका बुवा र विपना थापाका श्रीमानको भूमिका निर्वाह गर्दैछन्। फिल्ममा अभिनेता पल शाह, दक्षिण भारतीय कलाकार प्रदीप रावत, विपना थापा, माओत्से गुरुङ, गजित बिष्ट, सिम्रन पन्त, र उषा उप्रेती लगायत कलाकारको मुख्य भूमिका रहनेछ। फिल्मले आमा र सन्तानबीचको माया र भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको कथावस्तु बोकेको निर्माण पक्षले जनाएको छ।

रावत र पन्तको यो तेस्रो सहकार्य हो। यसअघि उनीहरूले हिन्दी फिल्म ‘माही’ र नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा संयुक्त काम गरेका थिए।

आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको फिल्मको कथा, पटकथा निर्देशक चन्द्र पन्तकै हो। संवाद अमर न्यौपाने र अभिमन्यु निरवीले लेखेका छन्। चलचित्रलाई लभस्टोरी र भावनात्मक पृष्ठभूमिमा निर्माण गरिँदैछ।

फिल्मका निर्माता कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने र प्रकाशजंग कुँवर हुन् भने कार्यकारी निर्माता करण सिंह रहेका छन्। छायांकन निर्देशन (DOP) नवराज उप्रेतीले सम्हाल्नेछन्। फिल्मको संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको  रहनेछ।

Leave A Reply

Your email address will not be published.