काठमाडौं :
ऋषि पञ्चमीको विशेष साइतमा नेपाली चलचित्र ‘स्त्री’ को शुभ मुहूर्त आज काठमाडौंको कमलादीस्थित गणेशस्थान मन्दिरमा सम्पन्न गरिएको छ। मंगलबार आयोजित कार्यक्रममा क्यामेरा पूजासहित चलचित्रको औपचारिक निर्माण प्रक्रिया सुरु गरिएको हो।
जीवन शाहीको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र यही भदौ १४ गतेबाट छायांकनमा जाने तयारीमा छ। निर्देशक शाहीका अनुसार चलचित्रको छायांकन काठमाडौं तथा आसपासका क्षेत्रहरूमा ३५ दिनसम्म सञ्चालन हुनेछ।
मेला रेकर्डिङ्ग स्टुडियोको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता समिर राई हुन्। निर्देशक शाहीकै कथामा आधारित चलचित्रको पटकथा उनले किशन अर्यालसँग मिलेर तयार पारेका हुन्। सामाजिक विषयवस्तुमा केन्द्रित रहने चलचित्रमा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत र नम्रता श्रेष्ठको प्रमुख भूमिका रहनेछ। बालकलाकारको रूपमा दिप्सन चिलवालको अभिनय रहनेछ।
चलचित्रको संगीत बाबुल गिरीले गर्ने छन् भने प्रोडक्सन म्यानेजर केवलमान सिंह बस्नेत, प्रोजेक्ट म्यानेजर सुबास काफ्ले, द्वन्द्व निर्देशक देव महर्जन, प्रमुख सह–निर्देशक चन्द्र भण्डारी र मेकअप कलाकार श्याम बराल रहेका छन्। ड्रेस डिजाइन सुकनिता चौलागाईंले गर्नेछिन्।
शुभमुहूर्त कार्यक्रममा गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापा र चलचित्र विकास बोर्डका प्रवक्ता सन्तोष बाबु लोहनीको विशेष उपस्थिति रहेको थियो।