काठमाडौं :
चर्चित नेपाली ब्याण्ड १९७४ एडीले करिब दुई दशकपछि आफ्नो लोकप्रिय कन्सर्ट सिरिज ‘रक यात्रा’ सुरु गर्ने भएको छ। ब्याण्डले यसपटक ‘रक यात्रा’लाई अन्तर्राष्ट्रिय टुरका रूपमा अघि बढाउँदै अष्ट्रेलियाका विभिन्न सहरमा प्रस्तुति दिने भएको हो।
बिहिबार ब्याण्डले टुरको औपचारिक घोषणा गरेको हो। आयोजक रोटेपिङ इन्टरटेनमेन्टका अनुसार टुर आगामी सेप्टेम्बर २३ बाट सुरु हुनेछ। अष्ट्रेलियाका विभिन्न आठ प्रमुख सहरमा आयोजना हुने टुर सेप्टेम्बर र अक्टोबर महिनासम्म सञ्चालन हुनेछ। टुरअन्तर्गत सिड्नी, मेलबर्न, ब्रिस्बेन, एडिलेड, पर्थ, न्यु क्यासल, अकल्यान्ड र क्यानबेरामा ब्याण्डले प्रस्तुति दिनेछ। आयोजकका निर्देशक राजेश घिमिरेका अनुसार टुरको तयारी लगभग पूरा भइसकेको छ।
करिब २० वर्षअघि काठमाडौंको त्रिभुवन रंगशालामा आयोजना गरिएको ‘रक यात्रा’ नेपाली सांगीतिक इतिहासकै चर्चित कन्सर्टमध्ये एक मानिन्छ। उक्त कार्यक्रममा ५० हजारभन्दा बढी दर्शक सहभागी भएको बताइन्छ। टिकट नपाएर धेरै दर्शक फर्किनुपरेको उक्त कन्सर्टको चर्चा अझै पनि नेपाली संगीत क्षेत्रमा हुने गरेको छ। यसपटकको टुरमा १९७४ एडीले दुई दशकअघिको चर्चित सेट लिस्टलाई समेत समावेश गर्ने तयारी गरेको छ।
पुराना लोकप्रिय गीतसँगै ब्याण्डको सांगीतिक यात्रालाई नयाँ पुस्तामाझ समेत पुर्याउने उद्देश्यले टुर आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। ब्याण्डका प्रमुख भोकलिस्टद्वय एड्रियन प्रधान र फिरोज स्याङदेन, बास गितारिस्ट निराकर याक्थुम्बा तथा लिड गितारिस्ट मनोजकुमार केसी उपस्थित थिए। प्रमुख भोकलिस्ट एड्रियन प्रधानले लामो समयपछि ‘रक यात्रा’का रूपमा टुर गर्न पाउँदा खुसी लागेको बताए।
आफूहरूले समय–समयमा विभिन्न टुर गर्दै आए पनि १९७४ एडीको रक यात्रालाई पुनः अगाडि बढाउन पाउँदा विशेष उत्साह रहेको उनको भनाइ थियो। फिरोज स्याङदेनले पनि अष्ट्रेलिया टुरका लागि आफूहरू निकै उत्साहित रहेको बताए। यसैबीच, नेपालमा पछिल्लो समय देखिएको दैवीप्रकोपलाई मध्यनजर गर्दै आयोजक रोटेपिङ इन्टरटेनमेन्टले सरकारको प्रकोप राहत कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
आयोजकका निर्देशक राजेश घिमिरेले पत्रकार भेटघाटकै क्रममा उक्त रकम अनलाइनमार्फत भुक्तानीसमेत गरेका छन्। टुर सम्पन्न भएपछि पनि कम्पनीको तर्फबाट थप सहयोग गर्ने प्रतिबद्धता उनले जनाए। १९७४ एडीको यो टुरले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय बजारमा थप विस्तार गर्नुका साथै विदेशमा रहेका नेपाली दर्शकलाई लामो समयपछि ब्याण्डको लोकप्रिय सांगीतिक यात्रासँग जोड्ने अपेक्षा गरिएको छ । आयोजकका अनुसार अष्ट्रेलियापछि टुरलाई अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा समेत विस्तार गर्ने योजना रहेको छ ।