सुचना, समाचार र मनोरन्जन

निर्वाचनमा एआई र एल्गोरिदमको चुनौती: पोखरामा विज्ञ र सम्पादकबिच मन्थन

पोखरा,
आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ को पूर्वसन्ध्यामा निर्वाचनमा सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स र एल्गोरिदमले पार्न सक्ने प्रभावका विषयमा पोखरामा बृहत् अन्तरक्रिया सम्पन्न भएको छ।

गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत प्रेस रजिष्ट्रारको कार्यालयको आयोजनामा बुधबार समाचारमा एआई/एल्गोरिदमको प्रभाव विषयक सम्पादकबिचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै कास्कीका मुख्य निर्वाचन अधिकृत माननीय हिमलाल बेलबासेले निर्वाचनको समयमा प्रविधिको दुरुपयोग गरी फैलिन सक्ने भ्रामक सूचनाले निर्वाचनको स्वच्छतामा चुनौती थप्न सक्ने बताउँदै सञ्चारमाध्यमले गेटकिपरको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले निर्वाचन आचारसंहिताको पालनामा डिजिटल प्लेटफर्महरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।

गण्डकी प्रदेश सरकारका निमित्त प्रमुख सचिव कृष्णप्रसाद लम्सालले प्रविधिको तीव्र विकाससँगै पत्रकारिताको स्वरूप बदलिएको र यसले ल्याउने अवसर तथा चुनौती दुवैलाई व्यवस्थापन गर्न प्रदेश सरकार सचेत रहेको बताए ।

कार्यक्रममा दुईवटा प्राविधिक सत्र सञ्चालन गरिएको थियो। पहिलो सत्रमा आईटी एनालिस्ट इन्जिनियर मिलन श्रेष्ठले निर्वाचन सम्बन्धी समाचारमा एआई र एल्गोरिदमको प्रभाव विषयक कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जालका एल्गोरिदमले कसरी मतदाताको मनोविज्ञानलाई प्रभाव पार्छन् भन्ने विषयमा प्रकाश पारे।

दोस्रो सत्रमा खोज पत्रकारिता केन्द्र सम्पादक एवं वरिष्ठ पत्रकार किरण नेपालले निर्वाचनको समयमा मिथ्या सूचना विषयमा प्रस्तुति दिँदै फेक न्युज र डिपफेक जस्ता चुनौतीलाई चिर्न पत्रकारहरूले तथ्य जाँचमा विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले पत्रकारितामा प्रविधिको प्रयोग बढेसँगै विश्वसनीयताको सङ्कट पनि गहिरिँदै गएकोले सम्पादकहरू थप जिम्मेवार हुनुपर्ने धारणा राखे ।

कार्यक्रमकी सभाध्यक्ष एवं गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार बिमला भण्डारीले निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै सम्पादकीय नेतृत्वलाई प्रविधिमैत्री र सचेत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन। उनले सहभागीहरूलाई धन्यवाद दिँदै आगामी निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन गण्डकीका सञ्चारमाध्यमले नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरिन ।

प्रेस रजिष्ट्रार कार्यालयका उपसचिव निराजन शर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा पोखरास्थित सञ्चारमाध्यमका प्रधान सम्पादक, वरिष्ठ सम्पादक, ब्युरो प्रमुख तथा प्रेस स्वतन्त्रता सेनानी गरी ५० भन्दा बढीको सहभागिता रहेको थियो। सहभागी सम्पादकहरू बासुदेव मिश्र, दिनानाथ बराल, सरिता पंगेनी, रञ्जन अधिकारी, दीपक परियारले एआईको प्रयोग र यसको नियमनका विषयमा आ-आफ्ना जिज्ञासा र अनुभव राखेका थिए ।

Leave A Reply

Your email address will not be published.