सुचना, समाचार र मनोरन्जन

पोखरा उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा ‘बिजुली अमृत’ मैदानमा उत्रिने

पोखरा,

पोखरा उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा कार्यसमिति सदस्य पदका लागि अमृत पोख्रेल (बिजुली अमृत) चुनावी मैदानमा उत्रिएका छन्। व्यवसायी, साथीभाइ र शुभेच्छुकमाझ ‘भुइँमान्छे’ भनेर परिचित पोख्रेल आफ्नो इमानदार कार्यशैली, सरल जीवनशैली, सेवाभाव र कर्मप्रतिको समर्पणका कारण फरक पहिचान बनाउन सफल भएका व्यक्तित्व हुन्।

स्याङ्जाको सामान्य परिवारबाट संघर्षको यात्रा सुरु गरेका पोख्रेलले दुई दशकभन्दा बढी समय विद्युत् क्षेत्रमा निरन्तर सेवा दिएका छन्। कुनै कार्यक्रमका बीचमा विद्युत् समस्या आउँदा कोट–सुटमै भए पनि प्रतिष्ठाभन्दा जिम्मेवारीलाई प्राथमिकता दिँदै हिलो, खाडल र कठिन परिस्थितिमा आफैं खटिएर समस्या समाधान गर्ने उनको कार्यशैलीले नै उनलाई ‘बिजुली अमृत’ को परिचय दिलाएको हो।

कोभिड–१९ महामारीको चुनौतीपूर्ण समयमा पनि उनले आफ्नै सुरक्षाभन्दा नागरिकको सेवालाई प्राथमिकता दिँदै निरन्तर विद्युत् सेवा उपलब्ध गराए। यही समर्पणले उनलाई सफल व्यवसायी मात्र होइन, जिम्मेवार समाजसेवी र भरोसायोग्य नागरिकका रूपमा स्थापित गरेको छ।

१२ भन्दा बढी युवालाई रोजगारी सिर्जना गर्नु, दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्‍याउनु तथा व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि समान महत्व दिनु उनको नेतृत्वको विशेषता हो। त्यसैले धेरै व्यवसायीले उनलाई बोल्नेभन्दा काम गरेर देखाउने नेतृत्वका रूपमा सम्मान गर्छन्।

पोखरा उद्योग वाणिज्य संघलाई अझ पारदर्शी, व्यावसायिक, उद्यमीमैत्री र उत्तरदायी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धतासहित मैदानमा उत्रिएका पोख्रेलको उम्मेदवारीलाई धेरैले सकारात्मक रूपमा हेरिरहेका छन्। उनका समर्थकहरूको विश्वास छ कि संघलाई कर्म, इमानदारी, अनुभव र सेवाभावले नेतृत्व गर्न सक्ने व्यक्तित्वको आवश्यकता छ।

ूनाम होइन, कामले चिनिने नेतृत्वू भन्ने मान्यतालाई जीवनमा उतार्दै आएका ‘बिजुली अमृत’ अर्थात् ‘भुइँमान्छे’ अमृत पोख्रेलको उम्मेदवारीले पोखराको व्यावसायिक समुदायमा नयाँ ऊर्जा, आशा र सकारात्मक अपेक्षा जगाएको छ।

Leave A Reply

Your email address will not be published.