सुचना, समाचार र मनोरन्जन

एन्फा साधारण सभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक, धुलिखेलमा विवाद

 

 

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाइएपछि शुक्रवार धुलिखेलमा विवाद उत्पन्न भएको छ।

थापालाई साधारण सभास्थलको गेटमै सुरक्षाकर्मीले रोकेपछि केही समय वातावरण तनावपूर्ण बनेको हो। यद्यपि भित्र साधारणसभा भने सञ्चालन भइरहेको छ। साधारणसभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष टंकलाल घिसिङले गरे। एन्फाले प्रवेश पास नभएको भन्दै थापालाई रोक लगाएको बताएको छ।

योसँगै उल्लेख्य संख्यामा सुरक्षाकर्मी पनि घटनास्थलमा खटाइएको छ। थापाले भने आफू उच्च अदालत पाटनको आदेशअनुसार सभामा सहभागी भएको बताए। उनले अदालतको आदेश मान्दिनँ भन्न वा साधारणसभामा प्रवेश दिन एन्फालाई आग्रह गरे।​

थापाले एन्फाले आफूलाई रोक्न सक्ने सङ्केत पाएपछि उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। वैशाख २१ मा न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापाको पक्षमा अन्तरिम आदेश दिएको थियो। सो आदेशअनुसार उनी साधारणसभामा सहभागी हुन पुगेका थिए तर एन्फाका प्रवक्ता सुरेश साहले अदालतको आदेशबारे औपचारिक जानकारी नआएको तर्क गरे।

सन् २०१५ अप्रिल १६ मा फिफाले भ्रष्टाचार र आचारसंहिता उल्लंघनको आरोपमा थापालाई १० वर्षका लागि निलम्बन गरेको थियो। सो निलम्बन सन् २०२५ अप्रिल १५ मा सकिएको थियो। प्रतिबन्ध फुकुवा भएपछि थापा फुटबल गतिविधिमा सक्रिय हुन थालेका छन्।

 

Leave A Reply

Your email address will not be published.