सुचना, समाचार र मनोरन्जन

‘अञ्जिला’ले मनायो ५१ दिन,कलाकारसँग साट्यो खुशी

काठमाडौं :

मिलन चम्स निर्देशित फिल्म ‘अञ्जिला’ले प्रदर्शनको ५१ औँ दिन मनाएको छ। शुक्रवार फिल्मले देशका केहि हलहरुमा ५१ दिन मनाउन सफल भएको हो। यसैको खुशीमा शुक्रबार निर्माण टिमले सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हलचोकमा भव्य कार्यक्रमको आयोजना गरेको छ।

उक्त आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलका सांस्कृतिक समूहहरूले विभिन्न प्रस्तुतिहरू दिनुका साथै गायक तथा सङ्गीतकार थानेश्वर गौतमले पनि चलचित्रमा समावेश गीत ‘रात किन हुन्छ’गाएर सुनाए। कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई लगायत सशस्त्र प्रहरी बलका विभिन्न ओहदाका पदाधिकारीहरू, पत्रकारहरू, हल सञ्चालक तथा व्यवस्थापकहरू र अन्य शुभचिन्तकहरूको उपस्थिति थियो। सो अवसरमा चलचित्रका निर्देशक मिलन चाम्सले आफ्नो टिम, दर्शक, पत्रकार तथा सबै शुभचिन्तकहरू सफलताको हकदार भएको बताए।

गत वर्ष फागुन २९ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले देशभरका ४५ शोहरूसहित ५१ दिन मनाएको हो । १० करोड रुपैयाँभन्दा बढीको ग्रस कमाइ गर्दै बायोपिक चलचित्रमा ऐतिहासिक कीर्तिमान समेत बनाएको छ। फिल्मका निर्देशक नेपाली चलचित्रको इतिहासमा १० करोड माथिको व्यापार र ५१ दिन पुग्ने पहिलो नेपाली बायोपिक फिल्म बनेको दाबी गरे।

‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र हो, जसमा एन्जिलाले आफैँ प्रमुख भूमिका निर्वाह गरेकी छन् । चलचित्रमा उनीसँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।

Leave A Reply

Your email address will not be published.