काठमाडौं :
असोज ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जेरी अन टप’ को पहिलो गीत ‘कस्तूरी’ सार्वजनिक भएको छ। बडादसैंको घटस्थापनाको अवसर पारेर सोमबार अनन्या फिल्मस् ब्यानरले बुढासुब्बा डिजिटलमार्फत गीतलाई वर्ल्ड प्रिमियर गरेको हो।
गीतमा अनमोल केसी र आँचल शर्मा फिचर्ड छन्। मुस्ताङदेखि भारतको राजस्थानसम्मका रमणीय दृश्य क्यामेरामा कैद गरिएको भिडियो उच्च मेकिङ र रङीन प्रस्तुतिमा बनेको छ। कोरियोग्राफर किरण थापाले अनमोल र आँचललाई रोमान्टिक ‘लभ वर्ड्स’को रूपमा उतारेका छन्।
प्रेमिल शब्द र आकर्षक दृश्यमा अनमोल–आँचलको केमिस्ट्री बलियो देखिएको छ। गीतमा आशिष गुवाजु र सदिक्षा कट्टेलको स्वर, जयन जे वाइबाको संगीत, शब्द र साउण्ड डिजाइन रहेको छ भने अशोक थानेतले मिक्सिङ र मास्टरिङ गरेका छन्।
सुयोग गुरुङको निर्देशनमा तयार फिल्ममा अनमोल र आँचलसँगै जसीता गुरुङ, हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’, अभिनेता भुवन केसी र उषा खड्गीको अभिनय छ। अभिनेत्री सुरक्षा पन्तले विशेष भूमिकामा योगदान दिएकी छन्।
सरोज न्यौपाने प्रस्तुतकर्ता रहेको यस फिल्ममा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी सह-निर्माता छन्। कार्यकारी निर्माता अनुराधा गिरी र इश्वर श्रेष्ठ हुन् भने एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन्।
फिल्ममा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठका गीत रहनेछन्। कथा हेमराज बिसीले लेखेका हुन्, पटकथा विश्वास तिम्सिनाले तयार पारेका छन् भने छायांकन दुलिप रेग्मीले गरेका छन्।
रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने ‘जेरी अन टप’ सगरमाथा आरोहण र यात्राको क्रममा बुनेको प्रेमकथामा आधारित छ।