सुचना, समाचार र मनोरन्जन

अनमोल केसीको ‘जेरीः अन टप’ बक्स अफिसमा अग्रस्थानमा, १० करोड नाघ्यो व्यापार

काठमाडौं :

नेपाली चलचित्रका स्टार अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘जेरीः अन टप’ पछिल्ला हप्ता नेपाली बक्स अफिसमा अग्रस्थानमा रहेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्स अफिस रिपोर्ट अनुसार फिल्मले रिलिजको तेस्रो शनिबारसम्म १० करोड ५१ लाख ४८ हजार ८ सय ३ रुपैयाँ २० पैसाको कारोबार गरेको छ।

सुयोग गुरुङको निर्देशन र सरोज न्यौपानेको निर्माणमा बनेको यो फिल्मले दशैंदेखि तिहारसम्म सबैभन्दा सशक्त व्यापार गरेको बोर्डको तथ्यांकले देखाएको छ। ‘जेरीः अन टप’ले प्रदर्शनको तेस्रो सातासम्म पनि हलहरूमा स्थिर दर्शक उपस्थिति कायम राखेको छ, जसले अनमोल केसीको स्टारडम अझ बलियो बनेको संकेत गर्छ।

अनमोलसँगै फिल्ममा जसिता गुरुङ, आँचल शर्मा, भुवन केसी, केदार प्रसाद घिमिरे र उषा खड्गीको पनि अभिनय रहेको छ। रोमान्टिक ड्रामा शैलीमा बनेको यस फिल्मले युवा दर्शकमाझ विशेष लोकप्रियता पाइरहेको निर्माण पक्षको दाबी छ।

चलचित्र विकास बोर्डका अनुसार दशैं–तिहार अवधिभर प्रदर्शनमा आएका फिल्महरूमध्ये ‘जेरीः अन टप’ सबैभन्दा बढी आम्दानी गर्ने फिल्म बनेको छ। यस अवधिमा ‘मैझारो’ले १ करोड ९५ हजार रुपैयाँभन्दा बढी र ‘सोल्टिनी’ले करिब २९ लाख रुपैयाँको व्यापार गरेको रिपोर्टमा उल्लेख छ।

फिल्मले निरन्तर सकारात्मक व्यापार गरिरहेकाले आगामी हप्ताहरूमा पनि ‘जेरीः अन टप’को बक्स अफिस प्रदर्शन अझ उकालो लाग्ने अनुमान गरिएको छ।

Leave A Reply

Your email address will not be published.