सुचना, समाचार र मनोरन्जन

नीर शाहको भावनात्मक अभिनयले छोयो मन, निर्देशक आचार्यको ‘परान’ बक्स अफिसमा संघर्षरत

काठमाडौं :

बाबु–छोराको भावनात्मक सम्बन्धमा आधारित चलचित्र ‘परान’ बक्स अफिसमा अपेक्षित व्यापारिक सफलता हासिल गर्न संघर्षरत छ। यद्यपि, फिल्मले आफ्ना संवेदनशील विषयवस्तु र सशक्त अभिनयका कारण दर्शकको मन छोएको छ।

चलचित्रले परिवारको महत्व, पुस्तागत सोचको अन्तर, पुँजीवादले प्रभावित भएको पारिवारिक जीवन र बाबु–छोराबीचको आत्मिक सम्बन्धलाई मार्मिक ढङ्गले चित्रण गरेको छ। हलमा फिल्म हेर्ने धेरै दर्शकको आँखा रसाएको र हलमै रुवाबासी चलेको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

विशेषगरी, एक पुरुष दर्शक फिल्म हेरिसकेपछि भक्कानिएर रोएको भिडियो र एक बालिकाले रुँदै आफ्ना बुबालाई विदेश नजान आग्रह गरेको दृश्य टिकटकमा चर्चाको विषय बनेका छन्। यी भावनात्मक क्षणहरूले फिल्मप्रति दर्शकको सम्बन्धलाई अझ बलियो बनाएको देखिन्छ।

‘परान’ निर्देशक दीपक प्रसाद आचार्य (काकु)को डेब्यू निर्देशन हो। उनले पहिलो निर्देशनमै वरिष्ठ अभिनेता नीर शाहलाई केन्द्रीय भूमिकामा प्रस्तुत गरेका छन्। शाहसँगै फिल्ममा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्यको अभिनय रहेको छ।

फिल्म गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको निर्माणमा बनेको हो। बाइस्कोप सिनेमाजको ब्यानरमा निर्माण गरिएको यस चलचित्रले देशभर करिब ७० बढी शोसहित प्रदर्शन सुरु गरेको छ।

निर्माण पक्षका अनुसार, फिल्मले पारिवारिक दर्शकलाई लक्षित गरेको छ र भावनात्मक कथा मन पराउने वर्गबीच राम्रो प्रतिक्रिया पाइरहेको छ। समीक्षकहरूले फिल्मको कथा र नीर शाहको अभिनयलाई यसको मुख्य बलका रूपमा उल्लेख गरेका छन्।

यद्यपि, प्रारम्भिक व्यापारिक रिपोर्टमा फिल्मको कमाइ मध्यम स्तरमा रहेको देखिएको छ। तर, दर्शकको सकारात्मक प्रतिक्रिया र सामाजिक सञ्जालमा फैलिएको भावनात्मक प्रभावका कारण आगामी दिनमा फिल्मको बक्स अफिस प्रदर्शनमा सुधार आउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.