सुचना, समाचार र मनोरन्जन

‘अवार्डहरू निष्पक्ष छैनन्’ : परेश रावलले खोले अवार्ड लबिङको पोल

मुम्बई :

बलिउडका वरिष्ठ अभिनेता परेश रावलले फिल्म उद्योगमा हुने ‘लबिङ’ अर्थात् पहुँच र प्रभावको राजनीति बारे ठूलो टिप्पणी गरेका छन्। उनले राष्ट्रिय पुरस्कारजस्तो प्रतिष्ठित अवार्डमा समेत लबिङ हुने गरेको स्वीकार गरेका छन् भने अस्कर अवार्डमा त अझ बढी प्रभाव र नेटवर्किङको भूमिका हुने दाबी गरेका छन्।

हालै रिलिज भएको आफ्नो फिल्म ‘द ताज स्टोरी’ लाई लिएर चर्चामा रहेका रावलले राज शमनीसँगको पोडकास्टमा कुरा गर्दै फिल्म अवार्डहरूको विश्वसनीयता र पारदर्शिता बारे आफ्ना धारणा व्यक्त गरेका हुन्।

उनले भने, “म एउटा कुरा भन्छु, राष्ट्रिय पुरस्कारमा पनि थोरै बहुत लबिङ हुन्छ होला। तर अन्य अवार्डमा जति हुन्छ, त्यति भने हुँदैन। बाँकी अवार्डको त कुरा गरे पनि फरक पर्दैन। राष्ट्रिय पुरस्कारको धेरै प्रतिष्ठा छ।”

रावलका अनुसार लबिङ भारतमा मात्र सीमित छैन, यो विश्वव्यापी अभ्यास बनेको छ। उनले विश्वकै प्रतिष्ठित पुरस्कार अस्करमा समेत लबिङको व्यापक प्रभाव हुने दाबी गर्दै भने, “अवार्ड प्रक्रिया धेरै हदसम्म प्रभाव र नेटवर्किङबाट प्रेरित हुन्छ। यस अन्तर्गत ठूला पार्टीहरू आयोजना गरिन्छन् र एकेडेमीका सदस्यहरूलाई प्रभावित गर्ने प्रयास गरिन्छ।”

तर, उनले व्यक्तिगत रूपमा कुनै अवार्डको लालसा नरहेको स्पष्ट पारे। “म कुनै अवार्डको खोजीमा छैन। मलाई निर्देशन र सहकर्मी कलाकारबाट साँचो प्रशंसा मिलोस्, त्यही मेरो पुरस्कार हो,” रावलले भने।

स्मरणीय छ, परेश रावलले सन् १९९३ मा फिल्म ‘छोकरी’‘सर’ का लागि राष्ट्रिय फिल्म पुरस्कारमा उत्कृष्ट सहायक अभिनेताको उपाधि जितेका थिए।

कामको सन्दर्भमा, रावल हालै रिलिज भएको ‘द ताज स्टोरी’ मा गाइडको भूमिकामा देखिएका छन्। साथै, उनी दीपावलीमा प्रदर्शनमा आएको आयुष्मान खुराना र रश्मिका मन्दाना अभिनीत फिल्म ‘थामा’ मा पनि आयुष्मानका पिताको भूमिकामा प्रस्तुत भएका थिए।

Leave A Reply

Your email address will not be published.