काठमाडौं :
चर्चित साङ्गीतिक जोडी महेश काफ्ले र अस्मिता अधिकारीको ‘सोलफुल यु.एस.ए म्युजिकल यात्रा’ सफलतापूर्वक सम्पन्न भएको छ। ‘थ्री ई इन्टरटेन्मेन्ट’को प्रस्तुति रहेको यो साङ्गीतिक यात्रा करिब साढे दुई महिनासम्म अमेरिका भरि सञ्चालन गरिएको थियो।
महेश र अस्मिताको जोडीले अमेरिकाका १५ भन्दा बढी शहरमा सजीव प्रस्तुति दिएका थिए। कार्यक्रममा उनीहरूले आफ्ना लोकप्रिय गीतहरूका साथै नेपाली सांगीतिक पहिचान झल्काउने गीतहरू प्रस्तुत गरेका थिए।
भर्जिनियाको एसबर्नमा आयोजित दसैं–तिहार फेस्टिभल र टेक्ससको ड्यालसमा आयोजना गरिएको म:म फेस्टिभलमा उनीहरूको प्रस्तुति हेर्न १५ हजारभन्दा बढी दर्शक उपस्थित भएको आयोजक थ्री ई इन्टरटेन्मेन्ट का प्रतिनिधि सुरेश सापकोटाले जानकारी दिए। उनका अनुसार ‘सोलफुल यु.एस.ए म्युजिकल यात्रा’मा दर्शकहरूले महेश र अस्मिताको जोडीलाई अत्यधिक माया र साथ दिएका थिए।
कार्यक्रम अमेरिकाका भर्जिनिया, टेक्सस, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्डलगायतका राज्यहरूमा आयोजना गरिएको थियो। आयोजकका अनुसार हरेक कार्यक्रममा नेपाली समुदायको उल्लेख्य उपस्थिति रह्यो।
अमेरिकामा बसेर नेपाली चाडपर्व तिज, दसैं र तिहारका अवसरमा नेपाली गीत–संगीत प्रस्तुत गर्न पाउँदा आफूहरू खुसी र गर्वानुभूति भएको गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले बताए। उनीहरूले परदेशमा पनि नेपाली गीत–संगीतप्रतिको लगाव र माया देख्दा उत्साहित भएको जनाए।
आयोजक थ्री ई इन्टरटेन्मेन्ट ले यस यात्रालाई नेपाल र अमेरिकाबीचको सांगीतिक सम्बन्धलाई अझ बलियो बनाउने माध्यमका रूपमा लिएको जनाएको छ।