Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- निखिल उप्रेतीको ‘आचार्य’को प्रदर्शन मितिमा अन्योलता, दशैंमा आउने चर्चा
- हलमा स्टारहरूको भिड : नेपालीदेखि हलिउड र बलिउड कलाकारहरूबीच रोचक भिडन्त
- बाल प्रतिभाको खोजीमा सर्वनाम थिएटर, ‘म पनि Actor’ राष्ट्रव्यापी अभिनय प्रतियोगिता घोषणा
- असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरु गर्ने सरकारको तयारी
- अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
- वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे
- महिलालाई आत्मनिर्भर बनाउन बाख्रा उपहार
- मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी
- दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार
- संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम
वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे
लमजुङ,
वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।
धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको आगमन घटेको हो । पर्यटकीय यामको अन्त्यतिर दैनिक ५०-६० जनासम्म पर्यटक आउने गरे पनि असार लागेपछि कुनै दिन एक–दुई, कुनै दिन १०-१५ जनासम्म पर्यटक आउने गरेका उनले जानकारी दिए ।
गुरुङका अनुसार चालु आर्थिक वर्षको साउन १ गतेदेखि यही असार २५ गतेसम्म अन्नपूर्ण पदमार्गमा ४० हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब एक हजार ५०० ले बढी हो । तर वर्षायाम सुरु भएसँगै पर्यटक आगमन भने घटेको उनको भनाइ छ । गत जेठमा दुई हजार ७७५ जना पर्यटक पदमार्गमा आएका थिए भने असार २५ गतेसम्म ८०० जना मात्रै आएका उनले जानकारी दिए ।
मस्र्याङ्दी गाउँपालिका-४ जगतका होटल व्यवसायी पञ्चबहादुर गुरुङका अनुसार पर्यटक आगमन घटेसँगै होटल व्यवसायको आम्दानीमा पनि असर परेको छ । पर्यटकीय याममा महिनाको रु ५०-६० हजारसम्म आम्दानी हुने जनाउँदै उनले अहिले त्यसको एकतिहाइ बराबर कमाइ हुन नसकेको बताए । “पहिले व्यापार धान्नै मुस्किल हुन्थ्यो, अहिले भने फुर्सदै फुर्सद छ”, उनले भने, “पर्यटक आउँछन्, फोटो खिच्छन् र फर्किन्छन् । आम्दानी निकै घटेको छ ।”
होटल व्यवसायी गुरुङका अनुसार पर्यटन व्यवसायबाट जीविकोपार्जन गर्ने व्यवसायील याममा कमाएको आम्दानीकै भरमा अहिलेको समय धानिरहेका छन् । पर्यटक घटेसँगै होटल, लज, रेष्टुरेण्ट, भरिया, पथप्रदर्शक तथा यातायात व्यवसायीसमेत प्रभावित भएका उनको भनाइ छ ।
बुङ झरना नजिकै होटल व्यवसाय सालन गरिरहेका खुसबहादुर तामाङले वर्षायाममा व्यवसाय सुस्ताएको बताए । सडकको अवस्था, बाढीपहिरोको जोखिम र यात्राको असहजताका कारण पर्यटकले यात्रा गर्न नचाहँदा आगमनसँगै कमाइ पनि घटेको उनको भनाइ छ । “सडक सुरक्षित हुँदा समूह-समूहमा पर्यटक आइरहन्थे । अहिले वर्षाका कारण जोखिम बढेपछि पर्यटक आउन डराउने अवस्था छ”, उनले भने ।
बेँसीसहर-चामे सडकमा वर्षायाममा बाढीपहिरोको जोखिम बढ्ने भएकाले अन्नपूर्ण पदमार्गको यात्रा चुनौतीपूर्ण हुने गरेको छ । सडक डिभिजन कार्यालय लमजुङका सूचना अधिकारी नवीन विस्तारका अनुसार असारदेखि असोजको पहिलो सातासम्म सडकमा बाढीपहिरोको जोखिम बढी रहने गर्दछ । सडक अवरुद्ध हुन नदिन विभिन्न स्थानमा उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको उनले बताए ।
सामान्य अवस्थामा सडक सञ्चालनमा रहे पनि निरन्तर वर्षा वा ठूलो पहिरो खसेमा यात्रा प्रभावित हुनसक्ने सूचना अधिकारी विस्तारको भनाइ छ । विश्वकै उत्कृष्ट पदमार्गमध्ये एक मानिने अन्नपूर्ण पदमार्ग हुँदै पर्यटकले लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दीका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको अवलोकन गर्ने गर्दछन् । यस पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर हो । पर्यटन व्यवसायीले वर्षायाम समाप्त भई मौसममा सुधार आएपछि पर्यटक आगमन पुनः पुरानै अवस्थामा फर्किने अपेक्षा गरेका छन् ।
Prev Post