सुचना, समाचार र मनोरन्जन

अभिमानमय ज्ञानभन्दा पर

हिराबहादुर कार्की,
ज्ञानीहरू अभिमानी हुन्छन् कि स्वाभिमानी ? समाजमा स्वघोषित ध्यानीज्ञानीहरूको बिगबिगी छ । नेपाली आध्यात्मिक समाजमा प्रकार–प्रकारका ज्ञानीहरू छन् । असली ज्ञानी, नक्कली ज्ञानी, अध्ययनशील ज्ञानी, दैविक ज्ञानी, स्वघोषित ज्ञानी, दिग्भ्रमित ज्ञानी वा अझै थप्न सकिन्छ । असली ज्ञानीहरू आफ्नै ज्ञानले थिचिएर मर्दैनन्, उनीहरूलाई आफ्नो ज्ञानमाथि अभिमान हुँदैन । अध्ययनशील ज्ञानीसँग अभिमान र स्वाभिमान दुवै मिसिएको हुन्छ । दैविक ज्ञानीको कुरै नगरौं । समस्या स्वघोषित र दिग्भ्रमित ज्ञानीहरूमा जति अभिमान अरू कसैसँग हुँदैन, जसले नागरिकहरूलाई पनि दिग्भ्रमित बनाइरहेका छन् ।

अभिमान र ज्ञानः हाम्रो समाजका जटिल द्वन्द्व
मानव जीवनमा ज्ञानको सर्वाधिक महत्व छ, नकार्न सकिँदैन । तर कस्तो ज्ञानको महत्व छ भन्ने प्रश्न मुख्य कुरा हो । ज्ञानले मात्र होइन, त्यो ज्ञानको प्रकृति कस्तो हो भन्ने कुराले पनि हामीलाई अगाडि बढ्ने दिशा देखाउँछ वा निराश बनाउँछ । तर आजको हाम्रो समाजमा सधैं सकारात्मक ज्ञानभन्दा बढी अभिमान र दम्भ मिसिएको ज्ञान सर्वत्र फैलिएको देखिन्छ, जसले न त समाजलाई सचेत बनाउँछ न त व्यक्तिगत चेतनालाई उजागर गर्छ । खोज्नु भनेको सिमाना नाघ्नु हो, तर त्यो खोजी यदि घमण्ड र हेपाहापनले मिश्रित छ भने, त्यो सिमाना नाघ्नु होइन, ठूलो गलतफहमीको पराकाष्ठा हो ।
यो लेखमा म त्यस्ता जोगी, साधु र बाबाहरूको भूमिका, उनीहरूले प्रवाह गर्ने ज्ञान र त्यसले हाम्रो समाजमा पार्ने प्रभावको संक्षिप्त चर्चा गर्न चाहन्छु । साथै यो पनि उजागर गर्न खोज्छु कि कसरी हाम्रो आफ्नै अभिमानले हामीलाई सत्य र प्रेमबाट टाढा पुर्याइरहेको छ ।

आयातित जोगी, बाबाहरू र हाम्रो जागरुकताको आवश्यकता
नेपालमा जोगी, साधु र बाबाहरूको जनसंख्या ठूलो छ, जो धार्मिक र आध्यात्मिक चेतनाको स्रोतका रूपमा मानिन्छन् । तर विडम्बना के छ भने, धेरैजसो जोगी तथा बाबाहरु आयातित, विशेष गरी भारतीय छन् जसले यहाँको धार्मिक स्थलहरू र सांस्कृतिक सम्पदाहरूमा आफ्नो प्रभाव जमाउने प्रयास गरिरहेका छन् । खासगरी पशुपतिनाथ मन्दिरजस्ता पवित्र स्थानहरूमा उनीहरूको कब्जा देखिन थालेको विषय हाम्रो प्रशासन एवम समाज दुवैको लागि गम्भीर चुनौती हो।
हाम्रो प्रशासन र समाजले यस विषयमा धेरै सचेत हुन आवश्यक छ । बाहिरबाट आएको यो प्रवाह कहिलेकाँही हाम्रो संस्कार र स्वाभिमानलाई चोट पुर्याउने खालको हुन्छ । यस्तो अवस्थामा मात्र बाहिरी प्रभावको विरोध गर्नु हाम्रो जिम्मेवारी होइन । हाम्रो आफ्नै मौलिक मूल्यमान्यता र ज्ञानको संरक्षण गर्नु नै पनि हो ।

अभिमानमय ज्ञानः प्रेम होइन, दम्भको मिसावट
धेरैजसो साधु, जोगी वा बाबाहरुले जस्तो ज्ञान प्रवाह गर्छन्, त्यो वास्तवमा ज्ञान होइन, जानकारी मात्र हो वा पुरै मनगढन्ते कथा । त्यो पनि त्यस्तो जानकारी जुन अहंकार, दम्भ, राग र रोषले भरिएको हुन्छ त्यस्तो ज्ञानलाई ज्ञान भन्नु गलत हुनेछ र त्यस्ता ज्ञानीलाई ज्ञानी मान्नु अज्ञान हुनेछ । किनभने ज्ञान भनेको आत्मविज्ञान हो, आत्मसमझदारी हो, जुन प्रेम र समर्पणबाट पूर्ण हुन्छ । जब ज्ञान अभिमान र दम्भसँग मिसिन्छ, तब त्यो अरूलाई हतोत्साहित गर्ने, अरुको आत्मबोधलाई धमिल्याउने र उसको स्वाभिमानलाई थिच्ने औजार मात्र बन्न पुग्छ । यस्तो ज्ञानलाई फोहोरको डुंगुर मात्रै मान्न सकिन्छ जसको सरसफाइ अत्यन्तै जरुरी छ । यसरी फैलिएको अभिमानयुक्त जानकारीले हाम्रो समाजमा मात्रै होइन, हाम्रो संस्कृति र आत्मसम्मानमा पनि गहिरो चोट पुर्याइरहेको छ । हामीले अब नेपाली अध्यात्म जगतमा आयातित कथित ज्ञानीहरूबाट आफ्नो स्वाभिमान बचाउन सक्ने स्पष्ट र दृढ निर्णय लिनु आवश्यक छ ।

सृष्टि र सकारात्मक–नकारात्मक शक्तिहरुको सन्तुलन
सृष्टिमा सबै जीवित र निर्जिव वस्तुहरूमा सकारात्मक र नकारात्मक ऊर्जा समानुपातिक रुपमा प्रवाहित हुन्छ । एउटा बिजुली बल्बले काम गर्न नकारात्मक र सकारात्मक तारको संयोजन आवश्यक पर्ने जस्तो, हाम्रो प्रकृतिमा पनि यि दुईवटा शक्तिहरुको सन्तुलनले जीवन चलिरहेको हुन्छ ।
धार्मिक वा आध्यात्मिक दृष्टिले हेर्दा यि दुबै शक्तिहरूलाई कतिपयले धर्म र भगवानको रूपमा बुझ्छन्। तर यिनको प्रभाव सजिवमा फरक प्रकारले देखिन्छ । जबसम्म हामीले आफैंलाई बुझ्न सक्दैनौं, तबसम्म हामी बाहिरी स्रोतमा आश्रित हुन्छौं । आफ्नो आत्मसंगत ज्ञान भयो भने, हामी बाहिरी तर्क, ज्ञान वा दबाब बिना पनि जीवनमा ठोस मार्गनिर्देशन गर्न सक्षम हुन्छौं । अनि त्यस्तो अवस्थामा हामी अरूलाई सच्चा ज्ञान दिने, समाजको भलाईमा योगदान पुर्याउने पात्र बन्न सक्छौं।

अभिमानरहित ज्ञानः स्थिरता र निर्भिकता
साँचो ज्ञान भनेको न केवल सूचना वा तथ्य हो, यो अन्तरआत्मामा बस्ने भाव हो । नेगेटिभ अनुभवबाट पनि सिकिएको ज्ञानले अन्तरआत्मामा स्थायी भाव पैदा गर्छ । त्यो ज्ञान निडर, निर्विकल्प, निर्गुण र स्वच्छ हुन्छ । यो प्रकारको ज्ञानले जीवनलाई सिद्ध बनाउँछ र मानिसलाई आत्मनिर्भर बनाउँछ । यसले हामीलाई डरबाट मुक्ति दिन्छ र अनुशासन पालना गर्न सक्षम बनाउँछ । डरले अनुशासित हुनु भनेको कमजोरी हो, तर निडर भएर अनुशासित हुनु भनेको साँचो अर्थमा स्वधर्म हो । यसै कारण जापान र दक्षिण कोरियाजस्ता मुलुकहरूमा देखिएको विकास र अनुशासन हाम्रा पूर्वजहरूको जीवनशैलीसँग मेल खान्छ । डरले होइन, स्वाभिमान र निडरताले जीवन सफल हुन्छ ।

अन्त्यमाः हाम्रो कर्तव्य र दायित्व
अहिले हाम्रो समाजमा गम्भीर प्रश्न खडा छ— के हामी अभिमानयुक्त ज्ञानका लागि आफ्नो स्वाभिमान बेच्न तयार छौं ? हाम्रो आफ्नै मूल्यमान्यता र संस्कारलाई किनारामा राखेर अरूको स्वार्थ पूरा गर्न खोज्नु कत्तिको न्यायसंगत छ ? हामीले दम्भ, अहंकार र घमण्डले भरिएको ज्ञानलाई अस्वीकार गरेर प्रेम र समर्पणयुक्त ज्ञानको खोजी गर्नुपर्छ, त्यस्तो ज्ञानले मात्र हामीलाई साँचो स्वतन्त्रता, आत्मसम्मान र अथाह सम्भावनाको बाटो देखाउँछ। हामी सबैको कर्तव्य हो, हामी आफूलाई बुझ्ने प्रयास गरौं, आफ्नो अन्तरआत्मासँग जोडिऔं र समाजमा सकारात्मक र शुद्ध ज्ञानको प्रवाह गरौं । यसबाट मात्र हामी एक बलियो, प्रेमपूर्ण र समृद्ध समाज निर्माण गर्न सक्छौं ।

निष्कर्ष
खोजीले सिमाना नाघ्नु पर्छ, तर त्यो खोजी कहिले पनि घमण्ड र हेपाहापनले ग्रसित हुनुहुँदैन । साँचो ज्ञान आत्मा र समाज दुवैका लागि जीवन्त प्रकाश हो । हामीले त्यो ज्ञानलाई अभिमानबाट मुक्त गरेर आत्मसंगत बनाउनुपर्छ, जसले हामीलाई निडर, स्वाभिमानी र अनुशासित बनाउँछ ।
आफ्नो पहिचान र मूल्य बचाएर मात्र हामी बाहिरी प्रभावसँग सामना गर्न सक्षम हुन्छौं र हाम्रो संस्कृतिको संरक्षण गर्न सक्छौं । आजको आवश्यकता यही हो—अभिमानरहित, प्रेमपूर्ण र शुद्ध ज्ञानको पुनस्र्थापना ।

Leave A Reply

Your email address will not be published.