काठमाडौं :
नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को मोसन टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले मंगलबार चलचित्रको टिजर सार्वजनिक गरेको हो।
मोसन टिजरको सुरूआत जिल्ला कारागार मोरङ अगाडिको दृश्यबाट हुन्छ, जहाँ एक व्यक्तिले चुरोट सल्काउँदै सिक्का टस गर्छन्। सिक्का चक्रको केन्द्रमा पुगेपछि पजल देखिन्छ, जसमा क्रमशः चक्कु, पहेँलो बस्त्र लगाएका चार व्यक्ति, आगो, र उडिरहेका नोट देखाइन्छन्।
दृश्यहरूमार्फत टिजरले पैसाका लागि हुने संघर्ष र त्यसबाट उत्पन्न हुने चक्रव्यूहको संकेत गरेको देखिन्छ।
निर्माता विनोद पौडेलका अनुसार चलचित्र भदौ २७ गते नेपाली संस्करणमा प्रदर्शनमा आउनेछ भने यसको हिन्दी भर्सन आगामी असोज ६ (सेप्टेम्बर २२) मा वल्र्डवाइड रिलिज हुने तयारी गरिएको छ।
चलचित्रले पैसाको प्रलोभनमा परेका मानिसको संघर्ष र त्यसबाट उम्किन खोज्ने प्रयासलाई मुख्य कथावस्तु बनाएको छ। अहिले पोस्टप्रोडक्सनको चरणमा रहेको चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला मुख्य भूमिकामा छन्।
सुशान्त गौतमको निर्देशनमा तयार भएको यो चलचित्र उनको डेब्यु निर्देशन पनि हो। मुकेश खनालले लेखन गरेका छन् भने मदन थापा क्रिएटिभ निर्देशकका रूपमा संलग्न छन्।
चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। सह–निर्माता रमेश चौलागाई र हरि श्रेष्ठ, कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।
जीवन शाक्य लाइन प्रोड्युसर, आकाश उखेडा मुख्य सहायक निर्देशक, मदन घिमिरे सम्पादक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक र शरद महतो डीओपी (छायाँकार) रहेका छन्।