काठमाडौं :
भारत सरकारले नयाँ दिल्लीमा एक समारोहका बीच ७१औं राष्ट्रिय चलचित्र पुरस्कार घोषणा गरेको छ। शुक्रबार भएको पुरस्कार घोषणामा अभिनेता शाहरुख खान र विक्रान्त मेस्सीलाई संयुक्त रूपमा वर्ष २०२३ का लागि सर्वश्रेष्ठ अभिनेता घोषित भए।
शाहरुख खानले फिल्म ‘जवान’ मा प्रस्तुत गरेको भूमिकाका लागि आफ्नो करियरमा पहिलो पटक राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका हुन्। विक्रान्त मेस्सीले फिल्म ‘१२ वी फेल’बाट उत्कृष्ट अभिनेता घोषित भएका हुन। विक्रान्तले यस फिल्ममा भारतीय प्रहरी सेवा ९आईपीएस० अधिकृत मनोज कुमार शर्माको जीवनमा आधारित चरित्र निभाएका थिए। वास्तविक घटनामा आधारित उक्त फिल्ममा उनले निर्वाह गरेको भूमिकाले समीक्षक तथा दर्शकहरूबाट अत्यधिक प्रशंसा पाएको थियो।
यस वर्षको सर्वश्रेष्ठ फिचर फिल्मको पुरस्कार ‘१२ वी फेल’ ले नै प्राप्त गरेको छ। विदु विनोद चोपडाद्वारा निर्देशित यस फिल्मले संघर्ष, परिश्रम र सफलता विषयक प्रेरणादायी कथा प्रस्तुत गर्छ। निर्देशक चोपडाले पनि यस फिल्मकै लागि सर्वश्रेष्ठ निर्देशनको पुरस्कार जितेका छन्।
अभिनेत्री रानी मुखर्जीले फिल्म ‘मिसेस चटर्जी भर्सेस नर्वे’ मा एक आमाको भूमिका निभाउँदै सन्तानलाई फिर्ता ल्याउन गरेको कानुनी लडाइँलाई संवेदनशील रूपमा प्रस्तुत गरेकी थिइन्। यही अभिनयका लागि उनलाई सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार प्रदान गरिएको हो।
अन्य विभिन्न श्रेणीमा प्रदान गरिएका पुरस्कारहरूमा ‘कथाल ः ए ज्याकफ्रुट मिस्ट्री’ ले सर्वश्रेष्ठ हिन्दी चलचित्रको उपाधि पाउन सफल भए। यता ‘रक्की और रानी की प्रेम कहानी’ ले सबैभन्दा लोकप्रिय चलचित्रको रूपमा पुरस्कार प्राप्त गर्न सफल भयो। ‘एनिमल’, ‘साम बहादुर’, ‘द केरला स्टोरी’ लगायतका फिल्महरुले प्रविधिक र कलात्मक श्रेणीमा विभिन्न पुरस्कारहरू जितेका छन्।
७१औं राष्ट्रिय चलचित्र पुरस्कार सन् २०२३ मा प्रदर्शनमा आएका फिल्महरूको मूल्यांकनका आधारमा प्रदान गरिएको हो। भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयले गठित निर्णायक समितिले पुरस्कार विजेताहरूको छनोट गरेको हो। राष्ट्रिय चलचित्र पुरस्कार भारतीय फिल्म क्षेत्रको सबैभन्दा प्रतिष्ठित सरकारी सम्मान हो, जुन हरेक वर्ष आयोजना गरिन्छ।
शाहरुख खानजस्तो चर्चित अभिनेताले पहिलो पटक राष्ट्रिय पुरस्कार प्राप्त गर्दा भारतीय चलचित्र उद्योग र उनका प्रशंसकहरूबीच उत्साह थपिएको छ। विक्रान्त मेस्सीले सामाजिक सन्देश बोकेको यथार्थपरक कथामा उत्कृष्ट अभिनय प्रस्तुत गरेर आफूलाई बलिउडको उदीयमान प्रतिभाका रूपमा पुनः स्थापित गरेका छन्। यस वर्षको पुरस्कार घोषणाले गुणस्तर, सन्देश र यथार्थपरकताको मूल्यांकनलाई प्राथमिकता दिइएको देखिन्छ।
