काठमाडौं :
चर्चित गायक, गीतकार तथा संगीतकार बिक्की गुरुङले करिब पाँच वर्षपछि नयाँ गीत ‘डर लाग्छ’ सार्वजनिक गरेका छन्। गीतका शब्द, संगीत र स्वर स्वयं गुरुङकै रहेका छन्।
गीतको भिडियोमा अभिनेत्री मलिका महत, अभिनेता कुन्साङ बम्जन र मोडल पूर्णिका सिजापतिले अभिनय गरेका छन्। गीतको निर्माण भिक्टर रसाइलीले गरेका हुन्। यसमा रुपेश साख्यको बाँसुरी, सुमन बिकेको गिटार र किरण महर्जनको सारङ्गी वादन समावेश गरिएको छ। भिडियोलाई निर्देशक विजय दोङले निर्देशन गरेका हुन् भने छायांकन, सम्पादन र कलर ग्रेडिङ जितु तामाङले गरेका छन्।

बिक्की गुरुङ अमेरिका निवासी नेपाली कलाकार हुन्। उनले सन् २०१५ मा ‘केवल’ गीतमार्फत आफ्नो व्यावसायिक संगीत यात्रा सुरु गरेका थिए। त्यसपछिका उनका ‘मरी जाऊँ’ र ‘मरी जाऊँ २’ जस्ता हिट गीतले दर्शक तथा श्रोतामाझ गहिरो प्रभाव जमाएका छन्।
गायन र लेखनसँगै गुरुङ संगीत निर्देशन, निर्माण र कम्पोजिसनमा पनि सक्रिय छन्। परम्परागत नेपाली संगीत र आधुनिक शैलीको सशक्त सम्मिश्रण प्रस्तुत गर्ने भएकाले उनलाई नेपाली संगीत क्षेत्रमा एक ताजा र फरक आवाजका रूपमा लिइन्छ। ‘डर लाग्छ’ गीत पनि त्यसैको उत्कृष्ट उदाहरण हो, जहाँ शब्द, संगीत र दृश्यात्मक पक्षले भावनात्मक अनुभूति दिन्छ। यो गीतले दर्शक तथा श्रोतामाझ फेरि एक पटक बिक्की गुरुङको सशक्त उपस्थिति महसुस गराउने विश्वास गरिएको छ।