सुचना, समाचार र मनोरन्जन

आरयु फेस्टिभल सुरु, शनिबार पनि जारी रहने

पोखरामा पहिलो पटक आयोजना गरिएको  दुई दिने आरयु फेस्टिभलमा शुक्रबार पहिलो दिन परियोजनाको बारेमा जानकारी, खेरा जाने सामानबाट बनेका सामाग्रीहरुको प्रदर्शनी तथा प्यानल छलफल लगायतका कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (GCRU) अन्तरगत आरयु फेष्ट (RU FST 2025) सुरु भएको हो र शनिबारसम्म चल्नेछ ।

बुलौदी स्थित पोखरा इभेन्ट सेन्टरमा फोहोरलाई खजना (मोहोर) बनाउने मूल मन्त्र सहित यो फेस्टिभल शुभारम्भ गरिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । पोखरा लगायत सिङ्गो मुलुकको हरित विकासका लागि एक नवीनतम प्रयासका रूपमा फेस्टिभल स्थापित हुने अपेक्षा गरिएको छ । फेस्टिभलले सृजनशीलता, नवप्रवर्तन र दिगोपनाका लागि हातेमालो गर्दै वातावरणमैत्री र सुरक्षित भविष्य निर्माणमा सघाउ पुर्‍याउने उनको विश्वास छ । “प्रयोगहीन सामाग्रीहरूलाई रिसाइक्लिङ र अपसाइक्लिङ गरी हरित रोजगारी सिर्जना गर्दै चक्रीय अर्थतन्त्रको निर्माणमा यो महत्त्वपूर्ण सिकाइ बन्न सक्छ, फेस्टिभल मार्फत नयाँ ज्ञान, सीप र मार्गदर्शन प्राप्त हुनसक्छ, नगर प्रमुख आचार्यले भने, यसले उद्यमशीलता र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान गर्नेछ।”

कोइकाका कन्ट्री डिरेक्टर मोहेओन कोङ्ले विश्व बजारमा हरित रोजगारी सिर्जना निकै महत्त्वपूर्ण र वातावरण तथा पर्यावरणीय दृष्टिले निकै अर्थपूर्ण हुने बताए । पोखरामा सञ्चालित परियोजना मार्फत हजारौँ रोजगारी सृजना हुने र चक्रीय अर्थतन्त्र मार्फत उद्यमशीलता र आयआर्जनमा वृद्धि हुने विश्वास व्यक्त गरे । कोइका एक बलियो साझेदारका रूपमा पोखराको साथमा उभिएको उनले विश्वास दिलाए । सो अवसरमा पोखरामा एक सुविधा सम्पन्न जलन सम्बन्धी उपचारका लागि डेडिकेटेड अस्पताल निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता प्रनि जाहेर गरे ।

 

यस्तै युएनडिपीका प्रतिनिधि जुलियन चेभीलार्डले रिसाइकल र अपसाइकल मात्र उत्पादित वस्तुको बजार राम्रो रहेको उल्लेख गर्दै यसले आर्थिक सशक्तीकरणमा योगदान गर्ने बताए । महिला तथा सीमान्तकृत समुदायहरूलाई जीविकोपार्जनको बलियो आधारका रूपमा हरित रोजगारी सिर्जना र चक्रीय अर्थतन्त्रको विकासमा समेत यसले टेवा पुर्‍याउने उनले बताए । पर्यटकीय राजधानी पोखरामा यसको अझ बढी महत्त्व र प्रभावकारिता रहने उल्लेख गरे ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एवं सहसचिव कालीप्रसाद पराजुलीले विकास साझेदारहरूको निरन्तर सहयोगमा नेपालले रोजगारी सृजना र उद्यमशीलता विकासमा थुप्रै कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए । नेपाल सरकार आफ्नो आन्तरिक बाहेक विकास साझेदारहरू समेतको सहयोगमा स्थानीय विकासलाई दिगो र परिणाममुखी बनाउने कार्यमा लागिरहेको उहाँले बताए ।

फेस्टिभलमा देशभरिका नवप्रर्तनयुक्त रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादनहरूको प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने प्रक्रियाको प्रत्यक्ष प्राविधिक डेमो सो, जलवायु, दिगो पर्यटन विकास, हरित उद्यमशीलता र प्लास्टिक टु रोड प्रविधि माथि संवाद, युवाहरूका लागि सिर्जनात्मक कार्यशाला, सार्वजनिक कला प्रदर्शनी, सहभागितामूलक गतिविधिहरू प्रस्तुत, दक्षिण कोरियाको सफलता अनुभवमाथि विशेष संवाद सत्र, हरित रोजगारी, बजार पहुँच र दिगो जीविकोपार्जनका उपायहरू लगायत विषयहरू माथि चर्चा परिचर्चा भइरहेको छ ।

हाल रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोइकाको ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर आर्थिक सहयोगमा पोखरामा जिभिजेड सेन्टर निर्माण भइसेको छ । नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा कोसेली घर निर्माणको काम भइरहेको छ । पोखरा महानगरपालिका क्षेत्रमा १३६ वटा सामुदायिक समूहहरू निर्माण गरी उनीहरूलाई आवश्यक तालिम तथा प्राविधिक प्रशिक्षण पनि प्रदान गरिएको छ । “यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने, हरित अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान गर्नेछ ।” नगर प्रमुख आचार्यले भने ।

फोहोरमैलाको उचित व्यवस्थापन मार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि निकै महत्त्वपूर्ण हुने विश्वास गरिएको छ । हरित अर्थतन्त्रमा योगदान पुर्‍याउने आरयू उद्यमहरूलाई बढवा दिन दिगो नीतिको सुनिश्चितता सहित महानगरपालिकाले परियोजनाको स्वामित्व मा लिनेछ । परियोजना मार्फत आगामी २ वर्षमा ३ हजार रोजगारी सृजना गर्ने लक्ष्य राखिएको छ ।

फेस्टिभल उत्सुक विद्यार्थीहरू, उद्देश्यमूलक उत्पादनहरू, दूरदर्शी नीतिनिर्माताहरु र जिज्ञासु नागरिकहरूका लागि यो फेस्टिभल सहकार्य, सृजनशीलता र सकारात्मक कदमको साझा मञ्च बन्नेछ । पर्यटकीय राजधानी पोखरालाई हरित, दिगो र स्मार्ट बनाउने यात्रामा हातेमालो गर्न पोखरा महानगरपालिकाले आम पोखरेलीहरूलाई सार्वजनिक आह्वान समेत गरेको छ ।

 

Leave A Reply

Your email address will not be published.