काठमाडौँ :
नेपाली चलचित्र तथा गीत–संगीत क्षेत्रका स्रष्टालाई सम्मान गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’को चौथो संस्करण (२०८२) का लागि नोमिनेसन सार्वजनिक गरिएको छ।
कार्यक्रम संयोजक सुरज पौडेल ले यस वर्ष फिल्मतर्फ ११ र सङ्गीततर्फ १५ गरी कुल २६ विधामा प्रतिस्पर्धा हुने जानकारी दिए। अवार्डका लागि खुला आह्वानमार्फत प्राप्त चलचित्र तथा गीत–संगीत कृतिहरूको मूल्याङ्कनपछि मनोनयन सार्वजनिक गरिएको उनको भनाइ छ।
अवार्ड समारोह आगामी फागुन १३ गते काठमाडौँमा आयोजना हुनेछ। विगतका तीन संस्करण पनि काठमाडौँमै सम्पन्न भइसकेका छन्। सेलिब्रेटी नेपाल प्रतिष्ठान को आयोजनामा हुने कार्यक्रममा २०८१ सालभर प्रदर्शन तथा सार्वजनिक भएका चलचित्र र गीत–संगीतलाई समेटिएको छ। अवार्डमा चलचित्र विकास बोर्ड ले सहकार्य गरेको आयोजकले जनाएको छ।
यसपटक एक जना स्रष्टालाई नगद रु २५,५५५ सहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ भने एक जना पत्रकारलाई नगदसहित विशेष सम्मान गरिने जानकारी दिइएको छ।
फिल्मतर्फ कडा प्रतिस्पर्धा
उत्कृष्ट फिल्मतर्फ ‘बोक्सीको घर’, ‘पूर्ण बहादुरको सारंगी’, ‘सतीदेवी’, ‘अञ्जिला’ र ‘पिताम्बर’ मनोनित भएका छन्। उत्कृष्ट अभिनेतातर्फ विजय बराल, प्रदीप खड्का, जितु नेपाल, दयाहाङ राई र विनय श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ भने उत्कृष्ट अभिनेत्रीमा सुपुष्पा भट्ट, केकी अधिकारी, मलिका महत, साम्राज्ञी आरएल शाह र अन्जना बराइली मनोनित छन्। निर्देशनतर्फ सरोज पौडेल, मिलन चाम्स, कृषा चौलागाई, लक्ष्मण सुवेदी र वसन्त निरौला प्रतिस्पर्धामा छन्।
सङ्गीततर्फ १५ विधा
सङ्गीततर्फ आधुनिक गायक–गायिका, संगीतकार, गीतकार, मोडल, म्युजिक भिडियो निर्देशक, छायाँकार, पप, लोक, भोजपुरी, गजल र कोरियोग्राफरलगायत १५ विधामा अवार्ड प्रदान गरिनेछ। आधुनिक गायनतर्फ नवीन कुमार पौडेल, रुद्र शेखर शर्मा, दिप्सन लिम्बु, शिव परियार र शशी विक्रम थापा मनोनित भएका छन् भने गायिकातर्फ मेलिना राई, जुनु प्रसाई, अन्जु पन्त, अन्नु चौधरी र वेनिषा पौडेल प्रतिस्पर्धामा छन्।
आयोजकका अनुसार कार्यक्रमलाई व्यवस्थित र निष्पक्ष बनाउन तयारी तीव्र पारिएको छ। अवार्डलाई नेपाली चलचित्र तथा संगीत क्षेत्रको वार्षिक उत्सवका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको जनाइएको छ।