सुचना, समाचार र मनोरन्जन

भुवन केसीले तारिफ गरेपछि ‘रमिताको पिरती’ झन् चर्चामा

काठमाडौं :

दोस्रो हप्तामा प्रवेश गरेको फिल्म ‘रमिताको पिरती’ले दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेको छ। विशेषगरी मुख्य अभिनेत्री आना शर्मा को अभिनयलाई लिएर हलमा प्रशंसाको वर्षा भइरहेको छ।

फिल्म ‘जेरी’पछि अभिनयको चर्चा कम सुन्दै आएकी आनाका लागि ‘रमिताको पिरती’ करिअरकै महत्वपूर्ण मोड सावित भएको विश्लेषण गरिएको छ। दर्शकले उनको अभिनयलाई “परिपक्व र हृदयस्पर्शी” भन्दै खुलेर तारिफ गरिरहेका छन्।

फिल्मले बिखण्डित परिवारमा हुर्किएकी ‘रमिता’ नामक युवतीको प्रेम, धोका र आत्मसंघर्षको कथा प्रस्तुत गरेको छ। लेखक तथा निर्देशक सुदीप्ता का अनुसार विशेषगरी जेन्जी पुस्ताका युवतीहरूले फिल्ममा आफ्नै कथा भेटेको प्रतिक्रिया दिएका छन्।

उनले भनिन्, “धेरैले आफ्नै जीवन देख्यौं भन्नु भएको छ। तर फिल्मको मूल सन्देश भनेको समस्यालाई हेर्ने हाम्रो दृष्टिकोण हो। कतै समस्या हामी आफैँभित्र त छैनौँ भन्ने प्रश्न फिल्मले उठाएको छ।”

फिल्ममा आनाको अभिनयको प्रशंसा गर्नेमा अभिनेता भुवन केसी समेत छन्। फिल्म हेरेपछि उनले ‘जेरी’ जोडी अनमोल केसी र आना शर्मालाई लिएर पुनः फिल्म बनाउने इच्छा व्यक्त गरेका छन्। उनले फिल्म उच्चस्तरको बनेको र आनाको अभिनय उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए। अभिनेत्री ऋचा शर्माबेनिशा हमाल ले पनि फिल्म र आनाको अभिनयको खुलेर प्रशंसा गरेका छन्।

शो थपिँदै, हलमा चासो बढ्दै

दर्शकको सकारात्मक प्रतिक्रियासँगै फिल्मको व्यापारमा पनि उत्साह देखिएको छ। वितरक करण श्रेष्ठ का अनुसार काठमाडौँका लबिम मल, रञ्जना, वन सिनेमा, सिटी स्क्वायर लगायत हलहरूले ‘रमिताको पिरती’का शो थपेका छन्। कीर्तिपुर, बिग मुभिज र शुभकामना बनेपा जस्ता हलले हटाइएको शो पुनः फिर्ता ल्याएका छन्।

वितरक श्रेष्ठका अनुसार आगामी हप्तामा फिल्मले अझ गति लिने अपेक्षा गरिएको छ। सकारात्मक ‘वर्ड अफ माउथ’का कारण ‘रमिताको पिरती’ दोस्रो हप्तामा पनि मजबुत उपस्थिती जनाइरहेको छ।

Leave A Reply

Your email address will not be published.