काठमाडौं :
नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड २०२६) को तेस्रो संस्करण आगामी २०८३ साउन ३० गते शनिवार (१५ अगस्ट २०२६) काठमाडौंमा भव्य रूपमा आयोजना हुने भएको छ।
पहिलो र दोस्रो संस्करण बेलायतको लण्डनमा सफलतापूर्वक सम्पन्न गरेको इन्फा इभेन्ट्स यूके तथा इन्फा इभेन्ट्स नेपालले यसपटक भने पहिलोपटक नेपालमै अवार्ड समारोह आयोजना गर्न लागेको हो। नेपाली फिल्म, कला, भाषा, संस्कृति तथा स्रष्टाहरूलाई विश्वसामु चिनाउने उद्देश्य बोकेको यो अवार्डलाई नेपाली फिल्म क्षेत्रकै एक उत्कृष्ट, प्रतिष्ठित र गौरवपूर्ण सम्मानका रूपमा स्थापित गर्ने आयोजकको लक्ष्य रहेको छ।
यही उद्देश्यलाई सफल बनाउन अहिले फिल्मकर्मी, कलाकार, निर्माता, निर्देशक, प्राविधिक तथा सञ्चारकर्मीहरूसँग सहकार्य गर्दै निमन्त्रणा हस्तान्तरण अभियानलाई तीव्र बनाइएको छ। अवार्ड समारोहलाई भव्य बनाउन आयोजक टोलीले नेपाली चलचित्र क्षेत्रका अग्रज तथा लोकप्रिय कलाकारहरूलाई औपचारिक निमन्त्रणा हस्तान्तरण गरिरहेको छ भने आगामी दिनमा अन्य कलाकार, निर्देशक, निर्माता तथा प्राविधिकहरूलाई समेत निमन्त्रणा पत्र बुझाइने आयोजक संस्थाले जनाएको छ।
यस वर्षको इन्फा अवार्डलाई सफल बनाउन बेलायत र नेपालका अनुभवी फिल्मकर्मी तथा आयोजकहरू संयुक्त रूपमा सक्रिय छन्। इन्फा यूके ९लण्डन टिम० तर्फ अध्यक्ष उमेशराज मोक्तान तथा बोर्ड सदस्यहरू टंक भट्टराई, पाल्देन लामा, आशिषराज पन्त, राज पाण्डे र सुष्मा पौडेल रहेका छन्। त्यस्तै इन्फा नेपाल टिमको अध्यक्षमा सुनील श्रेष्ठ र बोर्ड सदस्यहरूमा मनिष कार्की तथा मनोज केसी रहेका छन्। दुवै टोलीले नेपाल तथा विदेशमा रहेका नेपाली फिल्मकर्मीबीचको सम्बन्ध अझ सुदृढ बनाउने र अवार्डलाई अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमका रूपमा स्थापित गर्ने तयारी गरिरहेका छन्।
बेलायतको लन्डनमा सम्पन्न पहिलो र दोस्रो संस्करणले त्यहाँस्थित नेपाली समुदायबाट उल्लेखनीय साथ र सहभागिता प्राप्त गर्नुका साथै नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्ने महत्वपूर्ण सेतुका रूपमा भूमिका खेलेका थिए। यसपटक स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको चलचित्र अवार्ड आयोजना हुँदा नेपाली कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरूलाई विश्व समुदायसँग प्रत्यक्ष जोड्ने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार इन्फा अवार्ड केवल पुरस्कार वितरण कार्यक्रम मात्र नभई नेपाली फिल्म उद्योगको योगदानलाई विश्वसामु प्रस्तुत गर्ने साझा अभियान हो। कार्यक्रममा उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री लगायत विभिन्न विधामा सम्मान प्रदान गरिनेछ।
नेपाली फिल्मको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने, नयाँ पुस्ताका कलाकारलाई प्रेरणा दिने, विदेशी बजारसँग नेपाली फिल्म उद्योगलाई जोड्ने तथा नेपालको कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यसहित आयोजना हुन लागेको यस तेस्रो संस्करणलाई फिल्म क्षेत्रले ठूलो अपेक्षाका साथ हेरिरहेको छ। आयोजकले यस अभियानमा सम्पूर्ण चलचित्र क्षेत्र, कलाकार, निर्माता, निर्देशक, प्राविधिक तथा सञ्चारकर्मीहरूको निरन्तर साथ रहने विश्वास व्यक्त गर्दै इन्फा अवार्ड २०२६ ले काठमाडौंलाई नेपाली सिनेमाको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा चिनाउने दाबी गरेको छ।