काठमाडौं :
साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति ‘कोही कि बरबाद होस्’ बाट प्रेरित फिल्म ‘कमला मिस’को प्रिमियर भएको छ। सोमबार काठमाडौंस्थित जयनेपाल हलमा भव्य प्रिमियर गरिएको हो।
प्रियिमरमा फिल्मकर्मी, शिक्षाविद्, सामाजिक व्यक्तित्व, शैक्षिक संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूले फिल्मको विषयवस्तु, प्रस्तुति र सशक्त सन्देशको खुलेर प्रशंसा गरेका छन्। बालमनोविज्ञानलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले आमाको माया र स्नेहबाट वञ्चित बालमनको पीडा, आमाको खोजी, माया पाएपछि जीवनमा आउने सकारात्मक परिवर्तन तथा एक महिलाले आफ्नो जीवनमा भोग्नुपरेका संघर्षलाई मार्मिक र प्रभावकारी ढंगले प्रस्तुत गरेको दर्शकहरूको प्रतिक्रिया रहेको छ।
फिल्मले पारिवारिक सम्बन्ध, शिक्षा, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई भावनात्मक रूपमा चित्रण गरेको उनीहरूको भनाइ छ। प्रिमियर कार्यक्रममा प्याब्सन र एनप्याब्सनका पदाधिकारी, विभिन्न विद्यालयका प्रिन्सिपल,शिक्षक, फिल्मकर्मी तथा समाजका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले ‘कमला मिस’ मनोरञ्जनसँगै समाजलाई सकारात्मक सन्देश दिने उत्कृष्ट फिल्म बनेको बताए।
विशेष विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरूले बालमनोविज्ञान, शिक्षक–विद्यार्थीबीचको आत्मीय सम्बन्ध र अभिभावकको भूमिकालाई चलचित्रले अत्यन्त संवेदनशील ढंगले प्रस्तुत गरेको उल्लेख गर्दै हरेक शिक्षक, अभिभावक र विद्यार्थीले एकपटक अवश्य हेर्नुपर्ने फिल्म भएको प्रतिक्रिया दिए। वरिष्ठ कलाकार निर शाह को निर्देशनमा तयार भएको यस फिल्ममा निर्देशक शाहसँगै रमेश बुढाथोकी,बासना तिमिल्सिना,शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर,कृष्ण मुरारी ढुंगेल,सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा,राजन केसी, प्रणव सुबेदी (भोला),सञ्जय खतिवडाले अभिनय गरेका छन्।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारद्वारा निर्माण गरिएको का कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई रहेका छन् भने पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर हुन्। फिल्मको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलाल ले संयुक्त रूपमा तयार पारेका हुन्।
फिल्ममा शिवराम श्रेष्ठ को छायांकन,मिलन विक्रम शाह को सम्पादन, किरण तुलाधर को पृष्ठभूमि संगीत, मुकेश शाह को साउन्ड मास्टरिङ तथा रामजी लामिछाने को कोरियोग्राफी रहेको छ। चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनी ले देशव्यापी रूपमा वितरण गर्नेछन्। फिल्म यहीँ साउन २२ गतेबाट अल नेपाल रिलिज हुँदैछ।