सुचना, समाचार र मनोरन्जन

‘बाः एक योद्धा’को पोस्टरका केही पात्रको अनुहारमा खुसी केहीकोमा कुटिल मुस्कान

काठमाडौँ :

भदौ १९ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘बाः एक योद्धा’को नयाँ पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले आज दुईवटा पोस्टर सार्वजनिक गरेको हो, जसमा सिनेमाका मुख्य कलाकारहरूलाई समेटिएको छ।

सार्वजनिक पोस्टरले चलचित्र ‘बाः एक योद्धा’ पूर्ण पारिवारिक सिनेमा रहेको झल्काउँछ। पहिलो पोस्टरमा सपरिवार बसेर तस्बिर खिचाइरहेको जस्तो दृश्य देखिन्छ। जसमा दिव्यदेव र झरना थापा बसिरहेका छन् भने बाँकी तीन कलाकार सुहाना थापा, सागर खनाल र सुप्रज्ञा शर्मा पछाडि उभिएका छन्।

घरको आँगनमा तस्बिर खिचाइरहेका उनीहरू सबै हँसिलो मुद्रामा देखिन्छन्। भर्खरै रातो माटोले लिपपोत गरेर चिटिक्क पारिएको घरले दसैँको समयको सङ्केत गरिरहेको छ। साथमा कुकुर पनि देखाइएको छ, जसले एक इमानदार परिवारको बिम्बका रूपमा काम गरेको छ। तस्बिरमा देखिएका पात्र र उनीहरूको पहिरनले यो एउटा मध्यमवर्गीय परिवारको कथा हो भन्ने अनुमान लगाउन सकिन्छ।

दोस्रो पोस्टरका पात्रहरूको अनुहारमा भने कौतुहलता र तनाव झल्किन्छ। यस पोस्टरमा रहेका झरना थापा र सुहाना थापाको मुहारमा अचानक घटेको कुनै अनपेक्षित घटनाले पैदा गरेको कौतुहलता देखिन्छ। त्यस्तै, दिव्यदेव र अनिल बुढाथोकीको अनुहारमा आक्रोश देखिन्छ। यो पोस्टरमा रहेका अर्का पात्र माओत्से गुरुङ हुन्, जसको अनुहारमा कुटिल मुस्कान छ। यसले सिनेमामा उनी खलपात्र (विलेन) का रूपमा त छैनन् भन्ने शङ्का गर्ने ठाउँ दिएको छ।

सार्वजनिक दुवै पोस्टरले एक सुखी परिवारमा अचानक आइपर्ने अनपेक्षित घटनालाई सङ्केत गर्छन्। यसले पारिवारिक उतारचढाव र त्यसको व्यवस्थापनका लागि गरिने सङ्घर्षकै वरिपरि सिनेमाको कथा घुमेको अनुमान लगाउन सकिन्छ। नेपाली समाजमा परिवार र सन्तानको भविष्यका लागि बुबाले गर्ने त्याग, सङ्घर्ष र जीवनभर झेल्ने चुनौती नै हरि लम्सालको निर्देशन रहेको यस चलचित्रको मुख्य कथावस्तु हो।

चलचित्रमा झरना थापा, सुहाना थापा, दिव्यदेव पन्त, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकी मुख्य भूमिकामा छन्। निर्देशक हरि लम्सालकै लेखन रहेको चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गते कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो।

‘आर्टिस्टिक इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका हुन्। चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन्। गायक तथा सर्जकसमेत रहेका लम्सालले यसअघि अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए।

शिवराम श्रेष्ठको छायाङ्कन रहेको यस चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन्। ‘बाः एक योद्धा’लाई आशिष एच तामाङ र प्रदीप धामीको ‘कुवेर सिने डिस्ट्रिब्युसन’ले वितरण गर्नेछ।

Leave A Reply

Your email address will not be published.